सुरेश यादव अमेरिकास्थित एक प्राइभेट कम्पनीमा जागिर खाइरहेका चन्द्रकान्त (सिके) राउत स्वतन्त्र मधेश नामक अभियान लिएर एकाएक नेपाली राजनीतिमा परिचित भए । स्वतन्त्र मधेश गठबन्धनको नाउँमा मधेशका जिल्लाहरुमा समर्थक बटुलेका उनले ६ वर्ष अगाडि एक टेलिभिजन अन्तरवार्तामा भनेका थिए, ‘नेपालमै रहेर मधेशको मुक्ति असम्भव कुरा हो ।’ यसो भनिरहँदा उनको तर्क थियो, ‘मधेशलाई अधिकार सम्पन्न बनाउन एक दुई पटक मात्र सम्झौता भएको हो र ? दर्जनौं होइन, सयौं पटक सम्झौता भयो मधेशका अधिकारवादी पक्ष र राज्य पक्षको बीचमा । तर, कार्यान्वयन कहिल्यै भएन । भविष्यमा हुने सम्भावना पनि छैन ।’ राउतले नेपालको राज्य पक्ष ‘दाता’ र मधेश ‘माग्ने’ हैसियतमा कायम रहेसम्म मधेशी नेताहरु मन्त्री पदमा त पुग्लान् तर, आफ्नै अधिकारको उपभोग गर्न भने सक्दैनन् भन्ने जिकिर उक्त अन्तरवार्तामा गरेका थिए । आफ्नो विचारलाई अझ प्रष्ट्याउन उनले भनेका थिए, ‘तपाईलाई आफ्नै खलियानको मियोमा हातखुट्टा बाँधेर राखिदिएपछि मालिक त हो तपाई तर, त्यो धानको उपभोग गर्न पाउनुहुन्न नि ! हो । त्यसैगरी हामीलाई आफ्नै भुगोलमा फिरंगीहरु (राज्य पक्षका नेता र कर्मचारीतन्त्र) ले बाँधेर राखिदिएका छन् । अनि यस्तो अवस्थामा कागजमा कलम लिएर सम्झौताको नाउँमा दुईचार शब्द लेख्दैमा हुन्छ त मधेशको मुक्ति ?’ ६ वर्ष अगाडि यस्तो तर्क गर्ने सिके राउत यतिबेला नेपालमा राजनीतिक हैसियत त प्राप्त गरेका छन् तर, त्यो बुझाइ र विचारबाट धेरै टाढा पुगिसकेको बुझिन्छ । फिरंगीहरु (राउतको भाषा अनुसार) सँग उनको साँठगांठ बढेको छ । मित्रता जोडिएको छ । मित्रता जोडिनु सकारात्मक कुरा हो । तर, उनी कि त कमजोर बनेका छन् अथवा लाचार । कमजोर वा लाचार ? कसरी ? यी र यस्तै प्रश्न तपाइहरुको मनमा उब्जिरहेको होला । मधेशलाई नेपालबाट अलग्ग पारेर आफ्नै सम्राज्य कायम गर्ने अभियानमा लागेका राउतलाई राज्य विरुद्धको मुद्दामा थुनाभित्र राखेपछि तत्काल त्यो अभियान त्याग गर्नु उनको तत्कालिन बाध्यता थियो होला । हुन त विचार र मुद्दाको जन्म दिने व्यक्तित्व तत्काल पीडा भोग्नुपर्छ त्यसका लागि उनी तयार हुन नसक्नु एक किसिमको कमजोरी वा बाध्यता थियो । ठिकै छ । तर, अहिले आम निर्वाचनबाट नेपालको राष्ट्रिय राजनीतिक हैसियत प्राप्त गरिसकेपछि आफ्नो मुद्दाको पक्षमा प्रष्ट अडानसम्म लिन नसक्नु के हो ? उनको मनमा पलाएको अत्यधिक लोभ ? या बाध्यता ? कि कुनै डर ? किन बोलेको विषयमा अड्न सकिरहेका छैनन् उनी ? गएको मंसिर ४ मा भएको आम निर्वाचन राउत नेतृत्वको जनमत पार्टीका लागि पहिलो निर्वाचन थियो । संयोगवश भनौं या राउतको मिहिनेतको फल । दलको रुपमा दशक पुरानो तर राजनीतिक मैदानमा अन्य दलको नेताको रुपमा दशकौदेखि अभ्यासरत नेतृत्वको कमाण्डमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र पुर्व प्रधानमन्त्री नेतृत्वको एकीकृत समाजवादी पार्टी (एसपा) जस्ता राजनीतिक दललाई पछि पार्दै जनमत पार्टी (जपा) ले राष्ट्रिय राजनीतिक दलको हैसियत बनाउन सफल भयो । तर, सायद यो हैसियत मात्र सरकारमा गइहाल्न पर्याप्त थिएन कि ! खैर । सिके राउत सरकारमा जानु र नजानु ठूलो कुरा होइन । सरकारी सुविधा स्वाद चाख्न हतार थियो होला । गए, पाए । सिके राउतको स्वभाव, कथनी र करनीमा निकै भिन्नता देखिन थालेको छ । एक वर्ष अगाडि जनताको काममा ढिलासुस्ती गरेको आरोपमा खानेपानी कार्यालयका एक जना इन्जिनियरलाई अर्धनग्न बनाएर सार्वजनिक स्थलमा कुटपिट गरेको जनमतले अर्को चर्चा पायो । आज त्यहीँ खानेपानी मन्त्रालयको जिम्मेवारी पाएको छ, जनमतले । अब खानेपानीको समस्या समाधान हुन्छ कि जनमतले पनि अन्य मन्त्रीहरु जस्तै तलब भत्ता खाएर चीत्त बुझाउने हो त्यो हेर्न बाँकी छ । यहाँ चर्चा गर्न खोजेको मुख्य कुरा के हो भने जनमतले संघीय सरकारमा उद्योग र कृषि गरी दुई वटा मन्त्रालय पाए मात्र सरकारमा जाने भन्यो । प्रधानमन्त्री पदमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल चयन भएपछि कुनै मन्त्रालयको टुंगो नलागेपनि बिना विभागीय मन्त्रीको रुपमा जनमत तयार भयो । सरकारले जनमतले मागेको दुई वटा मध्ये कुनै पनि नदिएर नाम मात्रको लागि खानेपानी मन्त्रालय दिने निर्णय भयो, जनमतले अपमान भयो भन्दै मन्त्रालयको पदभार ग्रहण गरेन । दुई हप्तासम्म सरकारले अर्को मन्त्रालय दिने संकेत नगरेपछि के कति कारणले अपमान सहेर पनि जनमतले त्यो मन्त्रालयको जिम्मेवारी सम्हाल्यो ? मधेश प्रदेशमा पनि सामाजिक विकास र अर्थ मन्त्रालय जनमतको माग थियो । तत्काल एकमात्र मन्त्रालय दिए सामाजिक विकास जनमतको रोजाइ भयो । तर दिनेबेलामा त्यो दुवै भन्दा अलग कृषि मन्त्रालयको जिम्मेवारी दिइयो । जनमतले बिना कुनै शर्त त्यहाँ पदभार ग्रहण गरिसकेको छ । न संघमा न प्रदेशमा जनमतको कदर भयो । तर, पनि जनमत पार्टीले विवशता प्रकट ग¥यो । सिके राउत आजकल मौन जस्तै देखिन्छन् । यो सब के भइरहेको छ ? जनमत कमजोर कि लाचार ? जनमत पार्टीका आम कार्यकर्ताले हामी संचारकर्मीसँग सोध्न थालेको प्रश्न हो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: