जनकपुर । मधेश प्रदेश सरकारले मिडिया काउन्सिलको अध्यक्ष पदमा हालै नियुक्त गरेको कमल उपाध्यायले पत्रकारिता क्षेत्रलाई नै बदनाम गराउने हर्कत गरेको रहस्य बाहिरिएको छ । उपाध्यायले प्रभाव दैनिक नामक पत्रिकाको मुख्य पृष्ठ देखाएर स्थानीय कृपा दैनिक पत्रिकामा विज्ञापन छापेर पैसा उठाए । त्यो पनि गलतभित्र गलत काम गरेको अख्तियारले जनाएको छ । अनुसन्धान प्रतिवेदनको अनुसार प्रभाव दैनिकको पिडिएफ चोरेर माथिल्लो पृष्ठमा राखी भित्र कृपा दैनिकमै विज्ञापन छापिएको रहेछ । त्यस्तै, विज्ञापन प्रकाशन गरेको दररेटमा पनि भ्रष्टाचार गरेको आयोगको प्रतिवेदनमा छ । तत्कालिन समयमा प्रभाव दैनिकको विज्ञापन शुल्क प्रति कोलम प्रति सेन्टिमिटर (सिसि) एक हजार दुई सय रुपैयाँ थियो । उपाध्यायले प्रकाशन गरेको भनिएको विज्ञापनको साइज ६० सिसि थियो । त्यो हिसाबले उनले लिन पाउने शुल्कवापत जम्मा रकम ७२ हजार हुनुपर्ने हो । तर उनले ३ लाख ९० हजार रुपैयाँ बुझेका छन् । यस अर्थमा गाउँपालिकाको रकम हिनामिना गर्नुका साथै पत्रकारिताको न्युन्तम मर्यादा पनि कायम गरेको देखिदैन । केही दिन अघि काउन्सिल अध्यक्षमा नियुक्ति पाएका उपाध्यायले राष्ट्रिय पत्रिकाको आवरणमा स्थानीय पत्रिकामा विज्ञापन छापेर भ्रष्टाचार गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तहगत अनुसन्धानपछि उपाध्यायलाई भ्रष्टाचार गरेको ठहर गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: