७ फागुन, जनकपुरधाम। मुखको क्यान्सरबाट पीडित मिथिलाका वरिष्ठ गीतकार, संगीतकार तथा पत्रकार अशोक दत्त को उपचारका लागि आर्थिक सहयोग जुटाउन विभिन्न संघ–संस्थाहरू सक्रिय भएका छन्। शनिबार मिथिला नाट्यकला परिषद को सभाकक्षमा आयोजित बैठकले दत्तको उपचार सहयोगार्थ च्यारिटी कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो। बैठकमा मैथिली विकास कोष, रंग दर्पण, रामानन्द युवा क्लब, मैथिली साहित्यकार सभा लगायत जनकपुरधामका दुई दर्जनभन्दा बढी कलाकारहरूको सहभागिता रहेको थियो। निर्णयअनुसार आगामी चैत २१ गते मैथिली विकास कोषको हलमा च्यारिटी कार्यक्रम आयोजना गरिनेछ, जहाँ मिथिलाका कलाकारहरूले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिनेछन्। रंग दर्पणका अध्यक्ष रितेश पट्ली का अनुसार उक्त कार्यक्रमबाट संकलित रकम दत्तको उपचारमा खर्च गरिनेछ। करिब साढे दुई वर्षदेखि क्यान्सरसँग संघर्षरत दत्त पछिल्लो ६ महिनादेखि आर्थिक अभावका कारण नियमित उपचार र स्वास्थ्य परीक्षणबाट वञ्चित हुँदै आएका छन्। चिकित्सकले निरन्तर ‘फलोअप’ र औषधोपचार आवश्यक रहेको सुझाए पनि आर्थिक समस्याले उपचार प्रभावित भएको जनाइएको छ। दत्तले नियमित परीक्षण र औषधिको अभावका कारण स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर हुँदै गएको बताएका छन्। मिथिलाका कलाकार, पत्रकार तथा सांस्कृतिक अभियन्ताहरूले उनको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सहयोगका लागि आह्वान गरेका छन्। मैथिली भाषा, संस्कृति र सांगीतिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका दत्त अहिले आफ्नै जीवन रक्षाका लागि संघर्षरत रहेका छन्। समयमै सहयोग जुट्न सके मात्र उनको जीवन बचाउन सकिने सरोकारवालाहरूको भनाइ छ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: