२४ असोज, धनुषा । धनुषाको बटेश्वर गाउँपालिका वडा नं. २ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय सीतापुरमा आयोजित निःशुल्क आँखा शिविरमा ३ सय ५७ जनाले चेकजाँच गराएका छन् । रेयुकाई एइ मासुनागा आँखा अस्पताल ढल्केवरको सहयोगमा आयोजित निःशुल्क आँखा शिविरको आयोजना विद्यालयले विद्यार्थी र अभिभावकहरुको आँखा चेकजाँचका लागि आयोजना गरेको थियो । आँखा शिविरमा विद्यालयमा अध्ययनरत २ सय ४९ जना विद्यार्थी र १ सय ८ जना अभिभावकहरुले आँखा चेकजाँच गराएका थिए । शिविरमा निःशुल्क औषधी दिइनुको साथै विद्यार्थीहरुका लागि चश्माको समेत सिफारिस गरिएको छ । शिविरमा आँखा चेकजाँच गराएका अभिभावकहरुमध्ये २१ जनालाई मोतियाविन्दुको समस्या देखिएको छ । मोतियाविन्दुको समस्या देखिएकाहरुको आउँदो सोमवारमा रेयुकाई एई मासुनागा आँखा अस्पताल ढल्केवरमा निःशुल्क अप्रेशन गरिने दृष्टि रोग विशेषज्ञ ललन रायले बताए । शिविरमा स्वास्थ्यकर्मी प्रभात कुशवाहाले अभिभावकहरुको प्रेसर चेकजाँच गरेका थिए । विद्यालयमा यस अघि गत वर्ष नाक, कान र घाँटी, प्रेसर चेकजाँचलगायत मधुमेहको अवस्थाबारे चेकजाँच शिविरको आयोजना गरेको विद्यालयका प्रधानाध्यापक राजनारायण मण्डलले बताए । विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकहरुको आँखाको दृष्टि चेकजाँच गर्ने उद्धेश्यले आयोजित शिविरमा विद्यार्थी र अभिभावकहरुको उत्साहजनक रहेको थियो । विद्यालय र समुदायविचको सम्बन्ध सुमधुर बनाउन सामाजिक कार्यलगायत स्वास्थ्य शिविरको आयोजना गरिएको सीतापुर युवा समाजका अध्यक्ष सुमेद ठाकुरले बताए ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: