मधेश संवाददाता जनकपुर । धनुषाको सबैला नगरपालिका वडा नम्बर ५, मखनाहा बस्ने रुपेश कुमार यादव वैदेशिक रोजगारको क्रममा कतारमा सँगै काम गरेका आफ्नै साथीबाट ठगिएका छन् । २०६९ सालमा कतार स्थित वलोधिया कम्पनीमा राम्रो कमाइ गरेका रुपेशले सँगै बसेर काम गर्ने सप्तरी, लालापट्टीका रामानन्द यादवलाई उनका दाजु दुर्गानन्द यादवले सिरहामा बनाइरहेको बोर्डिंग स्कुलका लागि विभिन्न मितिमा लाखौ रुपैयाँ दिए । सुरुमा एकले अर्कोलाई परेको बेला सापटी लेनदेन गर्ने रकम इमान्दारी पुर्वक फिर्ता गरिदिने व्यवहार चलेको थियो । रामानन्द यादवका दाजु दुर्गानन्द यादव जो सिरहामै एउटा सामुदायिक विद्यालयका शिक्षक पनि छन्, उनले बोर्डिंग स्कुल सिरहामै खोले । दुर्गानन्दले कहिले स्कुलका लागि विद्यार्थी ओसार्न बस खरिद गर्न त कहिले कक्षाकोठाका लागि भनेर भवन निर्माण गर्न कतारमा काम गर्ने आफ्ना भाई रामानन्दसँग पैसा माग्थे । रामानन्दले आफुसँग भएको पैसाले नपुगेर धनुषाका साथी रुपेशसँग पनि पैसा सापटी लिएर दाजुको माग पुरा गरिरहन्थे । जब रुपेशले आफुले दिएको सापटी रकम फिर्ता माग्न थाले अनि रामानन्दले आफुले लिएको सबै रकम दाजुलाई स्कुलका लागि दिएको भन्दै नेपालमै फर्केर फिर्ता गर्ने भन्न थाले । उनीहरु विदामा नेपाल फर्किदा काठमाडौंमा बसेर रुपेशले विभिन्न मितिमा रामानन्दलाई दिएको सापटी रकमको हिसाब केलाउँदा आठ लाख रुपैयाँ दिएको भेट्यो । रामानन्दले गाउँ फर्किए लगत्तै सबै रकम फिर्ता गरिदिने आश्वासन दिए । तर गाउँ फर्किसकेपछि मन बदल्न सक्छ भन्दै रुपेशको आग्रह अनुसार उक्त रकमको कागज बनाइदिने सहमति भयो । र, रामानन्दले चार÷चार लाख रुपैयाँको तत्कालिन चलनचल्ती अनुसार लेखनदासको सुझाव मुताबिक दुई वटा कागज बनाइदिए । काठमाडौंमा रुपेशलाई तिर्नुपर्ने पैसाको कागज बनाइदिएपछि रामानन्द सँगै जनकपुर फर्के । रामानन्दले आग्रह गरेपछि रुपेशले उनलाई धनुषाबाट सप्तरीस्थित उनको घरसम्म पु¥याइदिए । दुई महिनापछि उनीहरु काममा फेरी कतार फर्किने बेला आयो । रुपेशले रामानन्दसँग पैसा पाएन । रामानन्दले पैसा फर्काउने विषयमा कुनै कुरै गरेन । रुपेशले कतारमै असुल्नुपर्ला भनेर फर्किए । तर, रामानन्दले रुपेश बस्ने ठाउँमा पुग्दै पुगेन । एउटै कम्पनीमा काम गरेपनि ब्लक परिवर्तन गरेर रुपेशलाई भेट्नै नसकिनेगरी रामानन्दले छल्न थाले । त्यसपछि कतारमा उनीहरुको भेट भएन । पैसाको ताकेदा गर्दा केही दिन पर्खिन मात्रै भनिरहे । कुनै जोगार नलागेपछि रुपेशले रामाननन्द विरुद्ध लेनदेनसम्बन्धी अदालतमा मुद्दा गरे । रुपेशले मुद्दा दर्ता गराएको करिब एक महिना नबित्दै मिटरब्याजी सम्बन्धी कानुन आयो । रामानन्दले सोही मौका छोपेर रुपेशलाई पैसा फिर्ता गर्न नपर्ने युक्ति सोचे र जिल्ला प्रशासन कार्यालय सप्तरीमा रुपेश विरुद्ध मिटरब्याजीसम्बन्धी उजुरी गरे । रुपेशलाई जिल्ला प्रशासन कार्यालयबाट छलफलका लागि बोलाइयो । रुपेश त्यहाँ पुगेर लेनदेनको वास्तविक रहस्य छानबिन समितिमा रहेका सदस्यहरुलाई सुनाएपछि छलफल लम्बियो । रामानन्दले घडी पैसा लिएको स्वीकार्थे घडी दाजु दुर्गानन्दको इसारामा पैसा नै नलिएको भन्थे त घडी एक लाख लिएको र १० लाख फिर्ता गरिसकेको भन्थे । घडी सहमतिमै कागज बनाएको भन्थे त घडी कागजको विषयमा कुरा उठ्दा केही नबोल्ने गरी मौन बसिदिन्थे । रामानन्दको छलकपटवारे सबै कुरा छानबिन समितिका सदस्यहरुले चाल पाए । कुनै पनि छलले बच्न नसक्ने भएपछि दाजु दुर्गानन्दले पत्रकार दिवाकर साहलाई बोलाए । तर, पत्रकार साहले सबै कुरा बुझेपछि रामानन्दले रुपेशसँग पैसा लिएको रामानन्दकै भनाइहरुबाट पुष्टी भइरहेको भन्दै भनसुन गरेर भएपनि सकेजति रकम फिर्ता गरिदिन दुर्गानन्दलाई आग्रह गरेर जिल्ला प्रशासन कार्यालयबाट विदा भए । दुर्गानन्दले भने अनेक चाल र जाल रचिरहे । अन्तिम दिन साउन ७ गते पुनः छलफलको लागि बोलाइयो । त्यो दिन दुर्गानन्द त्यहाँ पुगेनन् । रामानन्दसँग उनका ससुरा रामकिसुन यादव र नातामा पर्ने स्थानीय राजनीतिकर्मीहरु धनञ्जय यादव तथा विरेन्द्र यादव लगायतका व्यक्तिहरु आए । रुपेशको तर्फबाट उनका दाजुहरु भवेश यादव, मनिष यादव र मुकेश यादव थिए । दुई पक्षबीच गम्भिर छलफल भयो । अन्त्यमा रामानन्दले हातखुट्टा जोड्दै ब्याज माफी गरिदिन अनुरोध गर्दै साँवा रकम आठ लाख तिर्न तयार रहेको सुनाए । रुपेशले पनि रामानन्दको लाचारीप्रति दया आयो र मानिहाले । दुई पक्षबीच सोही अनुसार सहमति भयो र रामानन्दले १५ दिनको समय मागे पैसाको जोहो गर्न । त्यसमा पनि सहमति भयो र सोही अनुसार साउन २२ गते भित्र रामानन्दले पैसा दिइसक्ने गरी सहमति भयो । तर, यसरी सहमति गरिसकेपनि रामानन्दलाई प्रयोग गरेर दुर्गानन्दले कहिल्यै सहमति नै नभएको त कहिल्यै जबरजस्ती भएको भनेर नाटकीय व्यवहार गर्न थालेको पीडित रुपेशले जनाएका छन् । ‘एउटा सामुदायिक विद्यालयमा काम गर्ने व्यक्ति आज करोडौ रुपैयाँको निजी विद्यालय ठड्याएका छन् । सम्पत्ति शुद्धिकरणमा पर्न सक्ने भयले दुर्गानन्दले ससुराली निकटका व्यक्तिहरुको नाउँमा बोर्डिंग स्कुलको जग्गा, भवन र स्कुलमा सेयरहरु लुकाएर राखेको रामानन्दले नै मलाई भनेको छ’ रुपेशले मधेश अनलाइनसँग भने । उनले पुरै जवानी विदेशमा बिताएर पसिना बेचेर आर्जन गरेको रकम पनि ठगीमा परेको भन्दै न्यायका लागि पहल गरिदिन सरोकारवालाहरुलाई गुहारेका छन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: