रोशनी यादव
जनकपुरधाम उपमहानगरपालिका –९ बेल्हीकी मुन्नी खातुन बिहानै पाँचै बजे कबर्डहल पुग्छिन् । घरबाट करिब दुई किलोमिटर हिँडेर त्यहाँ एक घण्टासम्म जीम गरेपछि मात्रै उनको दैनिकी सुरु हुन्छ ।
सिलाइकटाइको काम गर्ने ३७ वर्षीया मुन्नी चार महिना अगाडी वाथ रोगले ग्रसित भइन् । डाक्टरकोमा गइन् । अनेक जाँच गरियो, हजारौं रुपैयाँको औषधी खानुप¥यो । तर, निको हुने छांट देखिएन । तीन महिना अगाडी छिमेकीको सल्लाह बमोजिम उनले ‘मोर्निङवाक’ सुरु गरिन् । दुई हप्ता नपुग्दै स्वास्थ्यमा सुधार देखिन थालेपछि उनले कबर्डहल परिसरमै जिम गर्छिन् ।
मुन्नीका छिमेकी अनिता यादव, विशेश्वर यादव, आरती कुमारी लगायत बिहानी मोर्निङवाक जाने सात जनाको समूह छ । जनकपुरको पिराडी, रानीबजार, मुजेलिया, नमूना बस्ती लगायत क्षेत्रबाट महिला तथा प्रौढहरु कबर्डहलको जिमका नियमित अभ्यासकर्ता हुन् ।
जनकपुर फुटबल क्लवले जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा जिम सेन्टर निर्माण गरेको छ । युवाहरुका लागि दैनिक फुटबल अभ्यास भइरहेको त्यहाँ महिला र प्रौढका लागि हलुको सामग्री राखेर जिमको व्यवस्था गरिदिएको क्लवका अध्यक्ष विकाउ राउतले जनाए । उनका अनुसार जिमको सामग्री राखिएपछि दैनिक ४५ देखि ५० जनासम्मले स्वास्थ्य लाभ लिने गरेका छन् ।
दैनिक जीवनमा प्रविधिको प्रयोग सँगै मानिसको दिनचर्या सहज त भएको छ । तर, सहजै दैनिकी चल्न थालेपछि हिँडडुलमा कमी भएर कम उमेरमै रक्तचाप, मधुमेह र मृगौला जस्ता गम्भिर प्रकृतिको समस्यामा बढोत्तरी हुन थाल्यो । यस्तो समस्याबाट मुक्ति पाउन मोर्निङवाक र हल्का कसरतको विकल्प नरहेको हाडजोर्नी सम्बन्धी चिकित्सक रामविनय चौधरीको भनाइ छ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको