मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयले आउँदो बैशाख २० गतेदेखि २९ गतेसम्म शहीद कप अन्तरप्रदेश क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । मन्त्रालयद्वारा बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले जनकपुरधामस्थित निर्माणाधीन श्रीरामजानकी बहुउद्देश्यीय रंगशालामा क्रिकेट प्रतियोगिता संचालन गर्न लागेका छन् । पत्रकार सम्मेलनमा बोल्दै मन्त्री सुरीता साहले देश भरिका खेलाडीहरु जनकपुरधाम आउन लागेको अवसरमा प्रतियोगितालाई सभ्य र भव्य बनाउन सबैलाई आ–आफ्नो ठाउँबाट पहल गर्न आग्रह गरे। वीर शहीदहरुको सम्झनामा हुन लागेको यस क्रिकेट प्रतियोगिताको समापन समारोहमा शहीद परिवारहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको बताउँदै मन्त्री साहले खेलुकद क्षेत्र देखिएका समस्या समाधानका लागि एने, कार्यविधी, बजेट जस्ता विषयहरु प्रति आफू गम्भीरताका साथ कार्य गरिरहेको दाबी गरे। पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सचिव चुडामणी फुयालले उक्त प्रतियोगितामा ७ वटै प्रदेश टीम र जनकपुर–११ टीम गरि कुल ८ वटा क्रिकेट टीमले प्रतिस्पर्धा गर्ने बताए । शहीद कप क्रिकेट कमिटिको संयोजन तथा क्रिकेट एशोसिएशन नेपालको सहकार्यमा संचालन हुने टी–२० क्रिकेट प्रतियोगितामा विजेता टीमलाई नगद रु. २ लाख ११ हजार तथा ट्रफी तथा उपविजेता टीमलाई नगद रु. १ लाख १ हजार तथा ट्रफी प्रदान गरिने छ । त्यस्तै म्यान अफ द सिरीजलाई नगद रु. १५ हजार तथा ट्रफी र प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद रु. २ हजार ५ सय तथा ट्रफी प्रदान गरिने कमिटिका संयोजक रुपेश कुमार सिंहले बताए ।
३७ देखि ४० लाख रुपैयाँ अनुमानित खर्च रहेको यस प्रतियोगिताका लागि मन्त्रालयले ३० लाख रुपैयाँ छुट्याएको हुँदा थप आवश्यक रकम व्यवसायीक प्रतिष्ठानबाट सहयोग लिन सकिने संयोजक सिंहले बताए । यसअघि कमिटिले चन्दा संकलन गरि ३ पटक शहीद कप प्रतियोगिता गराईसकेको स्मरण गराउँदै सिंहले खेल र खेलाडीको उत्साह बढाउन मन्त्रालयले देखाएको अग्रसरता प्रति धन्यवाद व्यक्त गरे।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: