४ असोज, काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय वनस्थली, काठमाडौंमा बसेको सचिवालय बैठकले समसामयिक राजनीतिक परिस्थिति, विपद् व्यवस्थापन र पार्टीका आन्तरिक विषयमा छलफल गर्दै विभिन्न ७ निर्णय गरेको छ।

बैठकले भोटेकोशीमा आएको विनाशकारी बाढीपछि खोजी, उद्धार, राहत वितरण तथा पुनर्स्थापना र पुनर्निर्माणका विषयमा जानकारी लिएको छ।

बाढीमा ज्यान गुमाएका तर शव पहिचान हुन नसकेकाहरूको शीघ्र डीएनए परीक्षण गर्न तथा बेपत्ता भई परिवारले आशा मारिसकेका व्यक्तिहरूको हकमा परिवारको सहमतिमा मृत्यु प्रमाणपत्र उपलब्ध गराउने कानुनी प्रक्रिया छिटो टुङ्ग्याउन नेपाल सरकारको ध्यानाकर्षण गराइएको रास्वपाले जनाएको छ।

संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन जाने प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतको टोलीलाई भोटेकोशी विपद्का बहुआयामिक पक्ष, बदलिँदो राजनीतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकासम्बन्धी विषयमा केन्द्रित भएर तयारी गर्न नीतिगत निर्देशन दिइएको छ।

रास्वपाको मधेश प्रदेशको सांगठनिक अवस्था तथा कार्यसम्पादन अडिटसम्बन्धी प्रारम्भिक प्रतिवेदन संयोजक तथा पार्टीका सहमहामन्त्री हरि ढकालले प्रस्तुत गरेका छन्।

विस्तृत प्रतिवेदन प्राप्त भएपछि आवश्यक थप रणनीतिक कदम अघि बढाउने निर्णय बैठकले गरेको छ।

पार्टीको केन्द्रीय अनुशासन आयोगलाई पूर्णता दिने क्रममा निम्न व्यक्तिहरूलाई सदस्यमा नियुक्त गरिएको छ।

* अधिवक्ता हरिचन्द्र भट्टराई

* अधिवक्ता सुशीला सिंखडा

* रामचन्द्र कार्की

* अधिवक्ता शान्ता थापा

* अधिवक्ता नन्दन तिमिल्सिना

* अधिवक्ता रोहन बोहजू

* अधिवक्ता भविन्द्र राई

* अधिवक्ता सन्तोष आचार्य

* अधिवक्ता सन्तोष बिसुखे

* अधिवक्ता श्वेता कुमारी

त्यसैगरी, ज्ञानेन्द्र मल्ललाई युवा खेलकुद तथा सशक्तीकरण विभागको उपप्रमुखमा मनोनयन गरिएको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागको सदस्यमा महेश भट्ट, टासी लाजोम र हिक्मत जंग कार्की तथा सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागको सदस्यमा जयराम गुरुङ र राजकुमार श्रेष्ठ नियुक्त भएका छन्।

बैठकमा नवमनोनित सचिवालय सदस्य विराजभक्त श्रेष्ठ र सहप्रवक्ता सुरेन्द्र चौधरीले पार्टी सभापति रवि लामिछानेसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

भोटेकोशी विपद्का कारण राष्ट्रिय शोक तथा राहत कार्यमा केन्द्रित हुन स्थगित गरिएका पार्टीका सम्पूर्ण आधिकारिक गतिविधि पुनः सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ।

यसअन्तर्गत ‘हामी सुन्छौँ’ अभियान, ‘नागरिक नीति र नेतृत्व’ अभियान, स्थानीय तहका उम्मेदवार छनोट प्रक्रिया लगायतका सांगठनिक तथा जनसम्पर्क कार्यक्रम तत्काल अघि बढाइने रास्वपाले जनाएको छ।

बैठकमा पार्टीका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालै सम्पन्न भारत भ्रमणका क्रममा भएका भेटवार्ता तथा आर्थिक कूटनीतिसम्बन्धी विषयमा सचिवालयलाई विस्तृत जानकारी गराएका थिए।

रास्वपा सचिवालय बैठकले विपद् व्यवस्थापन, अन्तर्राष्ट्रिय कूटनीति, मधेश प्रदेशको सांगठनिक समीक्षा र पार्टीका गतिविधि पुनः सञ्चालनलाई प्राथमिकतामा राखेको छ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको