सुरेश यादव, मधेश अनलाइन । धनुषाको मिथिला बिहारी नगरपालिकाले जनताको सेवाका लागि भनेर एक थान एम्बुलेन्स खरिद गरेको दुई वर्ष बितिसक्यो । उसले खरिद गरेको एम्बुलेन्स मिथिला बिहारी नगरपालिकाको लागि मात्रै नभएर छिमेकी नगरपालिका धनुषाधाममा समेत सेवा दिने सम्झौता गरेको छ । आवश्यक्ता परेको बेला धनुषाधाम नगरपालिकाको वारुण यन्त्र उपयोग गर्ने र सो वापत परेको बेला आफ्नो एम्बुलेन्स उपलब्ध गराउने दुई नगरपालिकाबीच समझदारी भएको हो । उक्त सम्झौता अनुरुप हालै मिथिला बिहारी नगरपालिकामा आगलागी हुँदा धनुषाधाम नगरपालिकाको वारुण यन्त्रले समयमै सेवा उपलब्ध गराएको मिथिला बिहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदरश यादवले बताए । तर, आफ्नो एम्बुलेन्सले धनुषाधामका जनतालाई त के आफ्नै नगरबासीलाई समेत अहिलेसम्म सेवा उपलब्ध गराउन सकेको छैन ।

आखिर एम्बुलेन्स खरिद गरेको दुई वर्षसम्म जनतालाई सेवा दिन नसकेको कारण के हो त ? मधेश अनलाइनको जिज्ञासामा मिथिला बिहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदरश यादव भन्छन्, ‘नगरपालिकासँग चालक नै छैन ।’

अनि चालक नै राख्न नसक्ने नगरपालिकाले किन खरिद गरेको त एम्बुलेन्स ? जनताले तिरेको करलाई यसरी दुरुपयोग गर्न मिल्छ भन्ने प्रश्नमा उनले भने, ‘पहिला चालक थियो । गत असारमा नगर कार्यपालिकाले निर्णय गरेर करारका सबै चालकलाई साउन १ गतेदेखि लागु हुनेगरी अवकाश दिइसक्यो । अनि अहिलेसम्म नयाँ चालक नियुक्त गर्न सकिएको छैन ।’

मधेश अनलाइनले सोध्योः नगरपालिकाले एम्बुलेन्स खरिद गरेको कहिले हो ?
रामदरश यादवः २०७८ असोज महिनामा ।
मधेश अनलाइनः पहिलादेखि नगरपालिकामा रहेका करारका चालकहरु अवकाश पाएको त २०७९ साउन देखि हो । होइन र ?
रामदरश यादवः हो ।
मधेश अनलाइनः अनि ०७८ असोज देखि ०७९ असारसम्म एम्बुलेन्स किन चलाइएन ?
रामदरश यादवः एम्बुलेन्स संचालन सम्बन्धमा मन्त्रालयबाट अनुमति लिने प्रक्रियामै समय बित्यो ।
मधेश अनलाइनः यति लामो समय लाग्छ त अनुमति लिन ?
रामदरश यादवः त्यो मलाई थाहा भएन ।
मधेश अनलाइनः अनि आफैले किनेको एम्बुलेन्स चलाउन चाहिने चालकलाई किन अवकाश दियो त ?
रामदरश यादवः करारका सबै कर्मचारीलाई हटाउने निर्णय भएको थियो । सोही क्रममा चालकहरु पनि हटाइयो ।
मधेश अनलाइनः अनि मेयर र उपमेयरको गाडी चलेको छ कि एम्बुलेन्स जस्तै थन्केको छ ?
रामदरश यादवः होइन सर । उहाँहरुको गाडी चलिरहेको छ ।
मधेश अनलाइनः उहाँहरु आफैले गाडी चलाउने हो ? चालक राख्नुपरेको छैन ?
रामदरश यादवः होइन सर । उहाँहरुका लागि दैनिक ज्यालादारीमा चालक खटाइएको छ ।
मधेश अनलाइनः जनतालाई चाहिएको बेला उपलब्ध गराउन भनेर लाखौ रुपैयाँ खर्चेर ल्याइएको एम्बुलेन्सका लागि पनि मेयर र उपमेयरको गाडीका लागि जस्तै व्यवस्था गर्न मिल्दैन ?
रामदरश यादवः मौन… (जवाफ दिन सकेनन्)
मधेश अनलाइनले मिथिला बिहारी नगर प्रमुख राजेन्द्र प्रसाद यादवलाई सोध्यौं, तपाई नगरमा चुनाव जितेर आएको एक वर्ष पुगिसक्यो । तपाई आउनुभन्दा एक वर्ष अगावै नगरपालिकाले किनेको एम्बुलेन्स आजसम्म संचालन भएको छैन । किन ?
उनले भने, ‘चुनाव जितेर आएँ । फेरी अर्को चुनाव (संसदीय) आइदियो । यो वर्ष त चुनावमै बित्यो । अब चलाइन्छ ।’ यतिका दिनसम्म जनताको प्रत्यक्ष सरोकार रहने एम्बुलेन्स सेवा सुचारु गर्न ढिलाइ भएकोमा नगर प्रमुख यादवलाई खासै चिन्ता देखिएन । उनले चालक लगायत समस्याको कारण एम्बुलेन्स संचालन हुन नसकेको तर अब चलाउन आवश्यक व्यवस्थापन गर्ने बताए ।

नगर उप प्रमुख शोभा देवी साहले भने नगरपालिकाको एम्बुलेन्स बारेमा आफुलाई केही जानकारी नरहेको बताए । उनी नगरपालिकाको कार्यालयमा पुग्दा जहिले पनि सामुनेमै पर्ने गरी उनी जितेर आएदेखि थन्केर बसेको एम्बुलेन्स कहिल्यै कुनै जानकारी नभएको र आफ्नो सरोकार पनि नरहेको उपप्रमुख साहको भनाइ थियो ।

आफ्नो नगरपालिकालाई आवश्यक परेको बेला एम्बुलेन्स उपलब्ध गराउने शर्तमा आफुले वारुण यन्त्र उपलब्ध गराउने सम्झौता गर्ने धनुषाधामका नगर प्रमुख बालेश्वर मण्डलले पनि उक्त एम्बुलेन्स वारे आफुलाई जानकारी नभएको बताए । उनले भने, ‘मलाई एम्बुलेन्सको आवश्यक्ता परेकै छैन । मैले यसवारे सोधीखोजी पनि गरेको छुइन ।’

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको