सुरेश यादव
जनकपुरधाम । माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनमा देशैभरि गठबन्धनका उम्मेदवारहरुको पक्षमा बहुमत देखिएको छ ।
दुई सिटका लागि मधेशमा पाँच जना उम्मेदवार रहेका छन् । गठबन्धनमा अन्य तर्फ नेपाली कांग्रेस अनुशासन विभागका संयोजक समेत रहेका केन्द्रीय सदस्य आनन्द प्रसाद ढुंगाना र जसपाबाट पुजा चौधरी चुनावी मैदानमा छन् भने एमालेबाट विजेता झा र उषा चौधरी तथा जनमतबाट रामशंकर महासेठ उम्मेदवार छन् । झा र महासेठ ढुंगानाका प्रतिस्पर्धी हुन् भने एमालेकी उषा जसपाकी पुजाकी प्रतिस्पर्धी हुन् ।
मधेश प्रदेशमा सबै दलको छुट्टाछुट्टै मतभारको अवस्थालाई विश्लेषण गर्ने हो भने नेपाली कांग्रेस सबैभन्दा अगाडि देखिएको छ । नेपाली कांग्रेस एक्लैसँग ३ हजार १ सय ६१ मतभार छ भने प्रतिस्पर्धी एमालेसँग जम्मा २ हजार ३ सय ५५ मतभार छ । अर्का उम्मेदवार जनमतसँग जम्मा ७ सय ४६ मतभार रहेको छ । गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र माओवादी केन्द्र तथा नागरिक उन्मुक्ति पार्टी समेतको मतभार जोड्ने हो भने कुल मतभार ७ हजार ५ सय ४१ रहेको छ ।


नेपाली कांग्रेससँग ३ हजार १ सय ६१, जसपासँग १ हजार ९ सय ९५, लोसपासँग ९ सय ३३, माओवादीसँग ८ सय १९, एकीकृत समाजवादीसँग ५ सय ८० र नागरिक उन्मुक्ति पार्टीसँग ५३ मतभार रहेका छन् । यी बाहेक रिजमान अन्सारी नेतृत्वको संघीय समाजवादी पार्टी, साझा विवेकशिल पार्टी र स्वतन्त्र सांसद समेतको समर्थन आउने प्रतिबद्धता जाहेर भएको आधारमा गठबन्धनसँग करिब ७० प्रतिशतभन्दा बढी मतभार पुग्ने अनुमान गर्न सकिन्छ ।
राष्ट्रियसभा सदस्य पदका लागि हुने निर्वाचनमा प्रदेशसभा सदस्य, नगर, उपमहानगर तथा महानगरका प्रमुख र उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने प्रावधान छ । मधेशमा १ सय ७ जना प्रदेश सांसद, ७७ जना नगर प्रमुख, ७७ जना उपप्रमुख, ५९ जना अध्यक्ष तथा ५९ जना उपाध्यक्ष रहेका छन् ।
मतदाताहरुमध्ये नेपाली कांग्रेससँग २२ जना सांसद, ३० मेयर, ३२ उपमेयर, १८ अध्यक्ष र २५ जना उपाध्यक्ष छन् । जसपासँग १९ सांसद, ८ मेयर, १० उपमेयर, १७ अध्यक्ष र १७ उपाध्यक्ष छन् । माओवादीसँग ९ सांसद, ७ मेयर, ५ उपमेयर, २ अध्यक्ष र ४ उपाध्यक्ष छन् । लोसपासँग ९ सांसद, ७ मेयर, ५ उपमेयर, ८ अध्यक्ष र ४ उपाध्यक्ष छन् । एकीकृत समाजवादीसँग ७ सांसद, ५ मेयर, ५ उपमेयर र १ अध्यक्ष छन् । नागरिक उन्मुक्ति पार्टीसँग १ सांसद छन् ।
त्यस्तै, एमालेसँग २४ सांसद, १९ मेयर, २० उपमेयर, ११ अध्यक्ष र ७ उपाध्यक्ष छन् । जनमतसँग १३ सांसद, १ मेयर, १ अध्यक्ष र १ उपाध्यक्ष छन् । साझा विवेकशिल पार्टीसँग १ अध्यक्ष र १ उपाध्यक्ष छन् भने राप्रपासँग १ तथा स्वतन्त्र १ सांसद छन् ।

यसरी हेर्दा गठबन्धनको पक्षमा करिब ७० प्रतिशत मत छन् भने एमालेसँग २२ र जनमतसँग ७ प्रतिशत मतभार देखिन्छ । अन्य मतको प्रतिशत २ देखिन्छ । दलगत रुपमा हेर्दा नेपाली कांग्रेससँग २९ प्रतिशत, एमालेसँग २२ प्रतिशत, जसपासँग १८ प्रतिशत, लोसपासँग ९ प्रतिशत, माओवादीसँग ८ प्रतिशत, एकीकृत समाजवादीसँग ५ प्रतिशत र जनमतसँग ७ प्रतिशत मतभार देखिन्छ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको