७ भदौ,जनकपुरधाम। जनकपुरधामस्थित होटल पौवामा स्थानीय तहका वडा अध्यक्षहरूको भूमिका, कार्यसम्पादन र योगदान समेटिएको ‘स्टार वडा अध्यक्ष’ पुस्तकको विमोचन समारोह सम्पन्न भएको छ।

पुस्तकका प्रकाशक विरेन्द्र कुमार साहको अध्यक्षतामा आयोजित समारोहमा मधेश प्रदेशका सभामुख राम आशिष यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा आमसञ्चार प्राधिकरणका अध्यक्ष जीतेन्द्र खड्गा, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र महतो, धनुषा अध्यक्ष पुरन साह सहभागिता रहेको थियो।

कार्यक्रममा युवा उद्यमी उत्प्रेरक जगदिश ठाकुर, युवा पत्रकार कमलेश ठाकुर तथा पुस्तकमा समावेश विभिन्न वडा अध्यक्षहरूको समेत उपस्थिति रहेको थियो।

सुरेश कुमार यादवद्वारा लिखित ‘स्टार वडा अध्यक्ष’ पुस्तकमा स्थानीय तहका वडा अध्यक्षहरूको भूमिका, नेतृत्व, कार्यसम्पादन तथा स्थानीयस्तरमा उनीहरूले गरेका काम र योगदानलाई समेटिएको छ।

समारोहमा लेखक यादवले पुस्तक लेखनको अनुभव प्रस्तुत गर्नुभएको थियो। त्यसपछि समारोहका प्रमुख अतिथि सभामुख राम आशिष यादवले पुस्तकको विमोचन गर्नुभएको थियो।

पुस्तक विमोचनपछि युवा पत्रकार कमलेश ठाकुर, युवा उद्यमी उत्प्रेरक जगदिश ठाकुर, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, मधेश प्रदेशका महासचिव शैलेन्द्र महतो तथा आमसञ्चार प्राधिकरणका अध्यक्ष जीतेन्द्र खड्गाले पुस्तक तथा समसामयिक विषयमा आफ्नो धारणा राख्नुभएको थियो।

कार्यक्रममा पुस्तकमा समावेश वडा अध्यक्षहरूमध्ये बर्दिबास – ११ का वडा अध्यक्ष प्रमोद कुमार मोक्तान ले समेत आफ्नो भनाइ राख्नुभएको थियो। वक्ताहरूले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको भूमिका, जिम्मेवारी र योगदानलाई अभिलेखीकरण गर्ने कार्य महत्वपूर्ण रहेको बताएका थिए।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सभामुख राम आशिष यादवले संघीयतालाई बदनाम गर्ने प्रपञ्च रचिँदै गएको बताउनुभयो। संघीय व्यवस्थालाई कमजोर बनाउने प्रयासप्रति सबै सचेत हुनुपर्ने भन्दै उहाँले संघीयताको संरक्षण र संस्थागत विकासका लागि जनप्रतिनिधि तथा नागरिक सबै जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो।

संघीयता प्राप्तिका लागि सहादत दिनुहुने सम्पूर्ण शहीदहरूको स्मरण गर्दै सुरु भएको समारोहको समापन पुस्तकका प्रकाशक विरेन्द्र कुमार साहले गर्नुभएको थियो।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको