१५ भदौ, काठमाडौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारले खोज, उद्धार, उपचार, राहत तथा प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनलाई तीव्रता दिएको जनाएको छ।
प्रधानमन्त्री बालेन साहले बाढी आएको छैटौँ दिनसम्म आइपुग्दा प्रभावित क्षेत्रमा सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी, स्वयंसेवक तथा विभिन्न संघसंस्थाको सहकार्यमा खोज तथा उद्धार कार्य जारी रहेको बताएका छन्।
सरकारका अनुसार हालसम्म ११ हजार ३७९ जनाको उद्धार भइसकेको छ भने ३ हजार ९२५ जना सम्पर्कविहीन छन्। उद्धार गरी विभिन्न अस्पतालमा भर्ना गरिएका २७९ घाइतेमध्ये १६८ जना डिस्चार्ज भइसकेका छन्।
३ हजार ६९६ प्रभावितलाई राहत
रसुवा, नुवाकोट र धादिङका चारवटा संकलन केन्द्रमार्फत संकलित राहत सामग्री २७ वटा वितरण केन्द्रबाट ३ हजार ६९६ जना प्रभावित नागरिकसम्म पुर्याइएको सरकारले जनाएको छ।
भारत, चीन, अमेरिका, यूएई, कतार, जापान, स्वीट्जरल्याण्ड र अष्ट्रेलियालगायत मित्रराष्ट्रबाट राहत तथा सहयोग प्राप्त भइरहेको छ।
राहत कोषमा ५ अर्ब ८७ करोडभन्दा बढी
प्रधानमन्त्री राहत कोषमा सोमबार मध्यान्हसम्म नौवटा वाणिज्य बैंकका खातामा ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको जनाइएको छ। त्यस्तै, हिमालयन र लक्ष्मी बैंकमा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भएको छ।
सरकारले उद्धार अनुरोध पोर्टलमार्फत प्राप्त आर्थिक सहयोगको विवरण सार्वजनिक गर्दै पारदर्शिता कायम गरिरहेको जनाएको छ।
त्रिशूलीपारि सडक सम्पर्क पुनःस्थापित
बाढीका कारण प्रभावित नुवाकोटको त्रिशूलीपारिको क्षेत्र पुनः सडक सञ्जालमा जोडिएको छ। गल्छी–त्रिशूली राजमार्गअन्तर्गत कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला र गौरीबेँसी हुँदै त्रिशूली बजारसम्मको सडक सञ्चालनमा आएको छ।
बाढीबाट रसुवा, नुवाकोट र धादिङका धेरै पुल भत्किएकाले सरकारले अस्थायी बेलिब्रिज निर्माणलाई प्राथमिकता दिएको छ। भारतबाट २३० फिटको सिंगल लेन मोडुलर स्टिल ब्रिज प्राप्त भएको तथा थप सातवटा बेलिब्रिज पठाउने प्रतिबद्धता आएको सरकारले जनाएको छ। चीनबाट पनि ३० वटा बेलिब्रिज प्राप्त हुने क्रममा रहेको बताइएको छ।
विद्युत् र सञ्चार सेवा पुनःस्थापना हुँदै
रसुवामा करिब ३० प्रतिशत घरधुरीमा विद्युत् सेवा पुनःस्थापना भएको छ। बाँकी क्षेत्रमा पोर्टेबल सोलारमार्फत विद्युत् सेवा उपलब्ध गराउने तयारी गरिएको छ।
नुवाकोटमा ८५ प्रतिशत र धादिङमा ९८ प्रतिशत विद्युत् सेवा पुनःस्थापना भइसकेको सरकारले जनाएको छ। नुवाकोटमा बाँकी क्षेत्रमा पाँच दिनभित्र तथा धादिङमा दुई दिनभित्र विद्युत् सेवा पूर्णरूपमा सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
सञ्चारतर्फ नेपाल टेलिकमका १२० मध्ये ११० BTS र एनसेलका ७८ मध्ये ७५ टावर सञ्चालनमा आइसकेका छन्।
जलविद्युत् आयोजनामा पनि उद्धार जारी
बाढीबाट प्रभावित विभिन्न जलविद्युत् आयोजनाबाट नेपाली सेनाले हालसम्म २७९ जनाको उद्धार गरेको जनाएको छ।
माथिल्लो त्रिशूली–१ बाट २५४ जना, मैलुङ खोला आयोजनाबाट ९ जना, रसुवागढीबाट २ जना, माथिल्लो त्रिशूली–३ बीबाट २ जना तथा त्रिशूली, सौर्य र देवीघाट आयोजनाबाट क्रमशः ३, ४ र ४ जनाको उद्धार गरिएको छ।
माथिल्लो त्रिशूली–थ्री ए, माथिल्लो त्रिशूली–थ्री बी, लाङटाङ खोला र चिलिमे जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार जारी छ। विभिन्न आयोजनामा नेपाली सेनासँगै भारतीय, चिनियाँ र कोरियन उद्धार टोलीसमेत परिचालित छन्।
९३९ शव फेला
बाढीका कारण ज्यान गुमाएका तथा पहिचान हुन नसकेका व्यक्तिका शव वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन भइरहेको सरकारले जनाएको छ।
हालसम्म ९३९ जनाको शव फेला परेको र पहिचान भएका शव आफन्तको जिम्मा लगाउने काम भइरहेको बताइएको छ। पहिचान हुन नसकेका शवको डीएनए लगायतका पहिचानका आधार सुरक्षित राखेर कानुनबमोजिम व्यवस्थापन गरिँदैछ।
पुनःस्थापनाको काम अघि बढाउने तयारी
सरकारले खोज तथा उद्धारसँगै प्रभावित नागरिकको पुनःस्थापनाको तयारीसमेत अघि बढाएको जनाएको छ। स्थानीय तहसँगको समन्वयमा प्रभावित नागरिकको संख्या, घर तथा भौतिक संरचनामा भएको क्षतिको विवरण संकलन सुरु गरिएको छ।
प्रधानमन्त्री बालेन साहले हजारौँ नागरिकले घर, परिवार, प्रियजन र जायजेथा गुमाएको उल्लेख गर्दै प्रभावित नागरिकलाई मानसिक तथा शारीरिक रूपमा सशक्त बनाउँदै पुनःस्थापना गर्ने सरकारको प्राथमिकता रहेको बताएका छन्।
सरकारले रसुवाको भोटेकोशीमा आएको बाढीलाई हिमालय क्षेत्रमा हिमपहिरो तथा जलवायु परिवर्तनसँग जोडिएको ठूलो विपद्का रूपमा लिँदै आगामी दिनमा यस्ता जोखिम न्यूनीकरणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा थप पहल आवश्यक रहेको जनाएको छ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: