सुरेश यादव
मुलुकको संघीय राजधानी काठमाडौंबाट स्थलमार्ग हुँदै मधेश प्रदेशको राजधानी पुग्न धनुषाको पहिलो पालिका आउँछ – मिथिला नगरपालिका । विपि राजमार्गहुँदै काठमाडौं–जनकपुर यात्रा गर्दा बाग्मती प्रदेशमा पर्ने कमलामाई नगरपालिकाको अन्तिम सीमा चुरेचाँदनी चोक हो । यो चोक पार गरेपछि मधेश प्रदेशको मिथिलाले स्वागत गर्छ । कमलामाई नगरपालिकाले अन्तिम विंदु चुरेचाँदनी चोकमा स्वागतद्वार बनाएको छ । त्यहाँदेखि दक्षिण धनुषा जिल्ला पर्छ भने पश्चिमतर्फ रातु खोलापारी महोत्तरी । यो चोक तीन जिल्ला (धनुषा, महोत्तरी र सिन्धुली) को संगमस्थल पनि हो ।
चुरेचाँदनी चोक कटेपछि मिथिला नगरपालिकामा पर्ने तुलसी प्रवेश गरिन्छ । तुलसी क्षेत्रको करिब तीन किलोमिटरको दुरी पार गरेपछि रातु खोलाको पुल आउँछ । उक्त पुल पार गरेपछि महोत्तरीको बर्दिबास नगरपालिका सुरु हुन्छ । बर्दिबास चोकबाट पुर्व आउँदा पुनः रातु खोला पार गरेपछि मिथिला नगरपालिकामा आइपुगिन्छ । मिथिला नगरपालिका विपि राजमार्ग, पुर्व–पश्चिम (महेन्द्र) राजमार्ग र ढल्केवर–जनकपुरधाम (छ लेन) सँग जोडिएको छ । सिंगो मुलुकसँग सडकमार्गले जोडिनु यो नगरपालिकाको सबैभन्दा महत्वपूर्ण विशेषता हो ।
मिथिला नगरपालिका तीन जिल्लामा पर्ने छवटा पालिकाको सीमासँग जोडिएर फैलिएको छ । यस नगरपालिकाको उत्तरमा सिन्धुलीको कमलामाई नगरपालिका र दुधौली नगरपालिका पर्छ । पश्चिममा महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका छ । पूर्वमा धनुषाधाम नगरपालिका रहेको छ भने दक्षिण क्षिरेश्वरनाथ नगरपालिका र बटेश्वर गाउँपालिकासँग जोडिएको छ ।
नाउँ ‘मिथिला’ भएपनि यस नगरपालिका क्षेत्रमा मिथिलाको संस्कृतिलाई सम्बोधन गर्ने कुनै नामोनिसान भेटिदैन । नगर प्रमुख महेन्द्र महतो भन्छन्, ‘यस पालिकाको नामाकरण प्रक्रियामा कसको प्रभाव प¥यो मलाई थाहा भएन । तर, मिथिला नाम राख्नुको कुनै तुक देख्दिन म ।’ बरु ‘ढल्केवर नगरपालिका’ नाम राखिएको भए भौगोलिक आधार मानिने मेयर महतोको भनाई छ । नगरपालिकाको केन्द्र (नगर कार्यपालिकाको कार्यालय) ढल्केवरमा छ । उनका अनुसार नगर क्षेत्र बाहिर यस भेगका बासिन्दाले ठाउँको परिचय दिनुपर्दा आफ्नो घर ढल्केवरमै रहेको बताउँछन् । गाउँको भु–बनोट उत्तरबाट दक्षिणतर्फ ढल्केको हुँदा यो ठाउँको नाउँ ढल्केवर हुन सक्ने नगरप्रमुखको अनुमान छ । स्थानीय रामजीवन महतोले भने ‘गाउँको मुख्य चोकमा ठूलो वरको रुख थियो जुन ढल्केको अवस्थामा थियो ।’ स्थानीयले उक्त ठाउँलाई ‘ढल्केको वर’ भन्दाभन्दै सजिलो गरी ‘ढल्केवर’ भन्न थालेको र पछि सोही नामले गाउँको नाउँ कायम हुन पुगेको रामजीवनको भनाइ छ ।
प्रादेशिक राजधानी जनकपुरलाई पूर्व–पश्चिम राजमार्गसँग जोडेको आधारमा ढल्केवर त्यसै परिचित ठाउँ हो । यस बाहेक केही वर्ष अगाडी पिकनिक स्पटको रुपमा विकास गरिएको पोखरिया (मिथिला–ताल) अर्को पहिचान बनेको छ । यसै नगरपालिकाको वडा नम्बर ४ मा पर्ने चमिनियाँमाई स्थान निकै प्रचलित धार्मिक स्थलको रुपमा चर्चित छ । यी स्थानहरुको समग्र विकासका लागि नगरपालिकाले गुरुयोजना बनाउन अग्रसरता लिएको नगर प्रमुख महतो बताउँछन् । उनले ढल्केवर–रानीवास सडक निर्माण कार्य पनि यसै वर्ष अगाडी बढाउन लागेको जनाए ।
नगरको दिर्घकालिन विकासका लागि स्तरीय शिक्षाको व्यवस्था अपरिहार्य रहेको महसुस गरी नगरपालिका आफैले सञ्चालन गर्ने योजना अनुरुप प्राविधिक कलेज निर्माण प्रक्रिया थालेको छ । कलेजसँगै तत्काल १५ शय्याको अस्पताल समेत सञ्चालनमा ल्याउनेगरी भवन निर्माण कार्यको पूर्व तयारी सुरु गरेको मेयर महतोले बताए । स्वस्थ नागरिक शिक्षित भए अन्य आवश्यक विकासको कामले नागरिकस्तरबाटै गति लिने उनको विश्वास छ । ८० प्रतिशत नागरिक कृषि क्षेत्रमा आवद्ध रहेको मिथिला नगरपालिकामा १० प्रतिशत नागरिकले व्यापार व्यवसाय गरी जीवन यापन गरिरहेका छन् । बाँकी नागरिक स्वदेश तथा विदेशमा जागिर रोजगारसंगै अन्य पेशामा लागेको नगरपालिकाको तथ्यांकले देखाउँछ ।

आधा अर्बको कृषि व्यापार
सर्वाधिक जनसंख्या संलग्न रहेको कृषि क्षेत्रको विकासले नै यस पालिकाको समृद्धि सम्भव देखिन्छ । ढल्केवर चोकमा कृषि उपज थोक बजार सञ्चालनमा रहेको छ । जहाँ वार्षिक करिब ५० करोडभन्दा बढी मूल्य बराबरको तरकारीसमेत कृषि उपज सामग्री खरिद बिक्री हुने गरेको छ । गत आर्थिक वर्षमा मात्रै ५२ करोड ९९ लाख २० हजार ९ सय ४८ रुपैयाँको कारोबार भएको बजार व्यवस्थापन समितिका अध्यक्ष बुधेश्वर महतोले बताए । उनका अनुसार अघिल्लो वर्ष ३५ करोड २५ लाख ७१ हजार ५ सय ६० रुपैयाँ बराबरको कारोबार भएको थियो । महोत्तरीको बर्दिबास र धनुषाको मिथिला नगरपालिकासमेत बटेश्वर गाउँपालिका, धनुषाधाम नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका र गणेशमान चारनाथ नगरपालिकामा बस्ने तरकारी उत्पादक किसानले प्रत्यक्ष रुपमा यस बजारबाट लाभ लिने गरेका छन् । यी पालिकाहरुबाट संकलित तरकारी, दलहन तथा मासुजन्य वस्तु काठमाडौं, पोखरा लगायत पूर्व तथा पश्चिमका विभिन्न सहरसम्म निर्यात हुनेगरेको बजार व्यवस्थापक शम्भुनाथ दासले जनाए ।
कृषिकर्ममा सर्वाधिक जनसंख्या निर्भर रहेपनि यसको विकासमा नगरपालिका भने मौन देखिएको छ । तत्कालिन कृषि सेवा कार्यालय र पशु सेवा कार्यालयको रुपमा रहेको भवन अहिले नगर प्रमुख तथा उपप्रमुखको कार्यकक्षको रुपमा प्रयोग भइरहेको छ । नगरपालिकाले सोही जग्गामा कार्यपालिकाको कार्यालय सञ्चालन गर्न नयाँ भवन निर्माण गर्ने योजना अघि सारेको छ । जबकी किसानले प्राविधिक सहयोग प्राप्त गर्ने कृषि तथा पशु सेवा कार्यालय सञ्चालन गर्ने कुनै योजना बनाएको देखिएन । यद्यपि शिक्षा र स्वास्थ्यको पूर्वाधार विकास गरिसकेपछि कृषि क्षेत्रमा देखिने गरी विकासको काम गर्ने नगर प्रमुखको भनाइ छ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको