११ बैशाख , काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएका छन्। भारत सरकारको निम्तो स्वीकृत गरिसकेपछि भ्रमणका लागि प्रारम्भिक तयारी सुरु भएको छ। परराष्ट्र मन्त्रालय ले भ्रमणसम्बन्धी आवश्यक तयारी अघि बढाइसकेको जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल ले यसअघि मोरिसस भ्रमणका क्रममा प्रधानमन्त्री शाहको भारत भ्रमण चाँडै हुने संकेत दिएका थिए। मन्त्री खनालले एस. जयशंकर सँगको भेटघाटका क्रममा पनि उक्त भ्रमणबारे छलफल भएको जानकारी दिएका छन्। सो भेटमा भारतीय पक्षले तयारीका लागि चाँडै नै उच्चस्तरीय टोली पठाउने संकेत गरेको बताइएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री ले हाल भ्रमणको प्रारम्भिक चरणको तयारी मात्र सुरु भएको र मिति तय नभइसकेको स्पष्ट पारे। “प्रधानमन्त्रीको भारत भ्रमणको प्रारम्भिक तयारी सुरु भएको छ, तर कहिले जाने भन्ने टुंगो लागेको छैन,” उनले भने। मन्त्रालय स्रोतका अनुसार भ्रमणको तयारीबारे छलफल गर्न भारतबाट चाँडै उच्चस्तरीय टोली नेपाल आउने सम्भावना रहेको छ। प्रधानमन्त्रीमा नियुक्त भएपछि शाहको यो पहिलो विदेश भ्रमण हुने बताइएको छ, जसलाई कूटनीतिक दृष्टिले महत्त्वपूर्ण मानिएको छ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: