५ भदौ,जनकपुरधाम । जनकपुरधाममा अतिक्रमणमा परेको गुठी जग्गा खाली गराउने अभियान शनिबारदेखि सुरु हुने भएको छ। गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिले अतिक्रमित क्षेत्रमा डोजर चलाउने तयारी गरेको हो।

समितिका सदस्य–सचिव जनक पोखरेलका अनुसार अभियानको पहिलो चरणमा अतिक्रमणमा परेका पोखरीका डिल खाली गराइनेछ। पहिलो चरणमा पहिचान गरिएका ५० वटा पोखरीलाई अतिक्रमणमुक्त बनाउने योजना रहेको उनले बताए।

अतिक्रमण हटाउने अभियानबारे समितिले यसअघि नै सार्वजनिक सूचना जारी गरिसकेको छ। शुक्रबार सम्बन्धित क्षेत्रमा माइकिङसमेत गरी अतिक्रमण हटाउन जानकारी गराइएको समितिले जनाएको छ।

समितिले अतिक्रमित गुठी जग्गा चरणबद्ध रूपमा खाली गराउने कार्ययोजना बनाएको छ। कार्ययोजनाअनुसार पहिलो चरणमा पोखरी, दोस्रो चरणमा मन्दिर परिसर र त्यसपछि अन्य गुठी जग्गामा भएको अतिक्रमण हटाइनेछ।

गुठी जग्गा पहिचान तथा अतिक्रमण हटाउने क्रममा २०६२ सालमा भोजराज घिमिरेको नेतृत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदनलाई आधार बनाइएको समितिले जनाएको छ।

कार्ययोजनाअनुसार शनिबारदेखि जनकपुरधामस्थित गोरधोइ पोखरीको डिलमा रहेको अतिक्रमित जग्गाबाट डोजर चलाएर अभियान सुरु गरिनेछ।

समितिले अभियानका क्रममा सार्वजनिक तथा धार्मिक प्रयोजनमा प्रयोग भइरहेका गुठी सम्पत्तिको संरक्षणलाई प्राथमिकतामा राखिएको जनाएको छ। साथै, चरणबद्ध रूपमा अतिक्रमण हटाउँदै गुठी सम्पत्तिलाई व्यवस्थित र संरक्षण गर्ने लक्ष्य समितिको रहेको छ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको