सुरेश यादव पूर्व पत्रकार एवं निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेपाली नागरिक छन् कि छैनन् ? सतही रुपमा बुझ्ने हो भने उनी नेपाली नागरिक थिए, रहेनन् र फेरी भए । अर्थात्, नेपालमै जन्मेका रवि कानूनतः नेपाली नागरिक भए । नेपाली नागरिकता लिएको केही वर्षपछि उनी अमेरिका गए । अमेरिकामा केही समय बिताएपछि उनी त्यहीँका नागरिक भए । नेपालको कानून अनुसार अमेरिकी नागरिकता प्राप्त गरे लगत्तै उनीसँग रहेको तत्कालिन नेपाली नागरिकता स्वतः निष्क्रिय हुनपुग्यो । त्यसको केही वर्षपछि उनी नेपाल फर्किए र अमेरिकी नागरिकता विधिवत ढंगले परित्याग गरेको घोषणा गरे । तर, अमेरिकी नागरिकता परित्याग गरेजस्तै उनले उक्त नागरिकता प्राप्त गरेकै कारण निष्क्रिय भएको नेपाली नागरिकता पुनः प्राप्त गर्ने प्रक्रियामा लागेनन् । फलस्वरुप अमेरिकी नागरिकता परित्याग गरेको अर्थात् कुनै पनि मुलुकको वैधानिक नागरिक नरहेको अवस्थामै एक वर्ष यता नेपालमा राजनीतिक दल दर्ता गराए, आफै पार्टी अध्यक्ष भए । प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवार भएर निर्वाचनमा भाग लिए । देशभरमै सबैभन्दा बढी मतान्तरले विजयी पनि भए । र, नेपाल सरकारको उपप्रधान एवं गृहमन्त्री पदमा आसिन भएर राज्यसत्ता सञ्चालनमा सरिक भए । तर, यतिको सक्रियता देखाउँदै राजभोगको अवसर प्राप्त गरिरहँदासम्म उनलाई आफु नागरिक नै नरहेको देशमा सत्ता सञ्चालन गरिरहेको हेक्का नै रहेन अथवा ठूलो पदमा पुगिसकेपछि समान्य प्रक्रियामा अल्झिरहनु आवश्यक ठानेनन् त्यो उनलाई नै थाहा होला । सवाल छः कानूनको संरक्षक सर्वोच्च अदालतले नै प्रक्रिया अवलम्बन गर्नैपर्ने भनिसकेपछि रविले त त्यो पनि गरिसके । अब त उनी पकिया नागरिक भए होला नि ! हो, यति भइसकेपछि भइसक्नुपर्ने हो । आम बुझाइ भनौं या सतही बुझाइ त्यहीँ हो । तर, त्यतिमात्र बुझेर नपुग्दो रहेछ । अदालतले नागरिकता सवालमा आदेश त सुनायो तर पुर्ण पाठ सार्वजनिक भएको छैन नि ! अर्को कुरा के हो भने मंगलबार रविले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आफुलाई पुनः गृहमन्त्री बनाउन प्रस्ताव गरे । जवाफमा प्रधानमन्त्री दाहालले हुँदैन भन्ने जवाफ दिए । हुँदैन भनिरहँदा दाहालको तर्क थियो, नागरिकताको कुरा त मिलेको जस्तो देखियो तर राहदानीको झमेला टरिसकेको छैन नि ! र, यो झमेला पनि टुंगो नलागेसम्म रविलाई गृहमन्त्री बनाउन नसकिने प्रधानमन्त्री दाहालको स्पष्टोक्ति थियो, छ । खैर, राहदानी सम्बन्धी मुद्दालाई तत्काल थाँती राखेर हेर्दा नागरिकताको झमेला समाप्त भएको हुनुपर्ने बुझिन्छ । तर, मंगलबारै रवि विरुद्ध परेको जाहेर प्रहरीले दर्ता गर्न मानेन । राहदानी सम्बन्धी जाहेर लिएर गएकालाई प्रहरीले भन्यो, ‘नागरिकता सम्बन्धीको पूर्ण पाठ आएपछि मात्र यो मुद्दा हेर्न सकिन्छ ।’ प्रहरीको उक्त भनाइले आइतबार रविले आफ्नो पूर्व नागरिकतालाई कानूनतः सक्रिय बनाएपनि उनी पूर्ण रुपमा नागरिक भइसकेका छैनन् । त्यसैले रवि नेपाली नागरिक हो पनि होइनन् पनि ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: