सुरेश यादव
संसदको दोस्रो ठूलो दल एमाले र अन्य साना दलहरुको साथ लिएर सत्ता सञ्चालन गर्ने अवसर प्राप्त गरेका प्रधानमन्त्री प्रचण्ड यतिबेला चौतर्फी दबावमा परेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन प्रधानमन्त्रीलाई सत्ता साझेदार दलहरुले कडा दबाव दिइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रचण्डमाथि रविलाई गृहमन्त्री बनाउन दबाव दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने अनेक आरोप र मुद्दा झेलिरहेका रविलाई तत्काल कुनै हालतमा गृहमन्त्री बनाउन नसकिने अडान लिँदै आएका छन् । नागरिकता मुद्दा सम्बन्धी अदालतको पूर्ण पाठ आउन नसकेको र राहदानी सम्बन्धी मुद्दा किनारा नलागेको भन्दै यहीँ अवस्थामा रविलाई गृहमन्त्री पदमा पुनः नियुक्त गर्न नैतिक रुपले नमिल्ने भनाइ प्रचण्डको हो ।
एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष लिङ्देन भने रवि नेतृत्वको पार्टी सत्ताबाट बाहिरिए आफ्नो भविष्य सुरक्षित रहन नसक्ने भयले ग्रस्त देखिएका छन् । प्रधानमन्त्री पदमा प्रचण्ड आसिन रहेपनि यतिबेलाको गठबन्धनको प्रकृतिले ओली प्रधानमन्त्रीभन्दा पनि शक्तिशाली हैसियतमा छन् । अहिलेको सत्ता गठबन्धन डगमगियो भने कांग्रेसले प्रचण्डलाई काखी च्यापेर आफुलाई कमजोर पार्न सक्ने भयमा ओली देखिन्छन् ।
यता राप्रपाका अध्यक्ष लिङ्देनले वर्तमान सरकारको विकल्पमा राजनीतिक परिस्थिति अगाडी बढेको अवस्थामा आफु पुनः मन्त्री पद पाउन नसक्ने चिन्तामा देखिन्छन् । उनले बुधबार प्रधानमन्त्री प्रचण्डसँगको भेटमा पनि रविलाई तत्काल मन्त्री नबनाए सरकारको बहुमत कमजोर हुनसक्ने बताएका छन् ।
रविको नागरिकता मुद्दा तत्काल टुंगिएको जस्तो देखिए पनि झुटा विवरणको आधारमा राहदानी लिएको भन्ने उनीमाथि गम्भिर आरोप लागेको छ । उक्त आरोप पुष्टी भए रविले कैद सजाय समेत भुक्तान गर्नुपर्ने अवस्था आउन सक्छ । समान्य कर्मचारीमाथि पनि कुनै मुद्दा लागेपछि तत्काल निजलाई निलम्बन गरेर मुद्दाको अनुसन्धान र कारवाही प्रक्रिया अगाडी बढाउने कानुनी व्यवस्था रहेको छ । जबकी गृहमन्त्रालय जस्तो संवेदनशील निकायको प्रमुखमा एक अभियुक्तलाई मनोनित गर्नु कतिसम्म गम्भिर विषय हो भन्ने विषयमा प्रधानमन्त्री संवेदनशील देखिएका छन् । यसवारेमा ओली र लिङ्देन अनभिज्ञ हुनसक्ने कुरै भएन । यद्यपि उनीहरु ती विषयहरुलाई बेवास्ता गरी तत्काल रविलाई गृहमन्त्री पदमा वहाली गर्न किन दबाव दिइरहेका छन् त ? प्रष्ट छ, ओलीलाई प्रचण्ड आफ्नो हातबाट नफुत्कियोस् भन्ने चाहना हुनु र लिङ्देनलाई कुनै पनि हालतमा आफ्नो मन्त्री पद कायम रहिरहोस् भन्ने महत्वकांक्षा हुुनु ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको