सुरेश यादव भारतीय राजदुत नविन श्रीवास्तवले मधेश प्रदेशको विकास मुख्य प्राथमिकतामा रहेको बताएका छन् । शुक्रबार नेपाल भारत मैत्री युवा संघले जनकपुरमा आयोजना गरेको भेटघाट तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत श्रीवास्तवले नेपाल भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरको विकासका लागि सहयोग दिन घोषणा गरेको सय करोड रुपैयाँ अविलम्ब माग गर्न अनुरोध गरे । ‘यो पैसा कहाँ खर्च गर्नुहुन्छ ? प्रस्तावना लिएर छिटै आउनुहोस्, हामी प्रतिक्षामा बसेका छौं’ उनले भने । राजदुत श्रीवास्तवले नेपाल र भारतबीच बेटीरोटीको मात्रै नभएर सांस्कृतिक, सामाजिक, आर्थिक र राजनीतिक सम्बन्ध पनि ऐतिहासिक रहेको उल्लेख गर्दै नेपालको विकास जहिले पनि भारतको प्राथमिकतामा रहेको दावी गरे । उनले मधेश प्रदेश पनि नेपालभित्रै रहेको आधारमा पनि यहाँ विकासको काममा भारत तत्पर रहेको बताए । नेपाल र भारतबीच सरकारी स्तरमा जुन सम्बन्ध रहेको छ त्यो भन्दा पनि फरक र पुरानो जनकपुर र अयोध्याबीचको सम्बन्ध रहेको चर्चा गर्दै उनले दुई देशका प्रमुख सहरलाई धार्मिक पर्यटनको दृष्टिकोणले विकासको आवश्यक्ता औंल्याए । यस अर्थमा पनि नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक भएको उनको भनाइ थियो । कार्यक्रमको आयोजक संस्था नेपाल भारत मैत्री युवा संघका केन्द्रिय अध्यक्ष एवं पूर्व मन्त्री महेन्द्र यादवले नेपालको विकासमा भारतको सहयोग पहिलेदेखि रहेको प्रसंग उल्लेख गर्दै अहिले पनि जारी रहेको र भविष्यमा पनि निरन्तर रहेको उल्लेख गरे । दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने आधारमा मधेश प्रदेशको समृद्धि भारतीय सरकारको पनि प्राथमिकतामा पर्नुपर्ने यादवको भनाई थियो । उनले तत्काल आवश्यक्ता रहेको भन्दै मधेश प्रदेशमा संसद भवन निर्माणका लागि भारतीय सरकारको ध्यानाकर्षण गराए । विद्यालय र खानेपानी लगायत क्षेत्रमा भारतीय सरकारको तर्फबाट प्राप्त भइरहेको सहयोगलाई सराहना गर्दै पूर्व मन्त्री यादवले मधेशको आवश्यक्तालाई पहिचान गरी विकासको नजर सम्बोधन गरिदिन राजदुत श्रीवास्तवलाई आग्रह गरे । कार्यक्रममा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतो, कमला नगरपालिकाका प्रमुख विशेश्वर यादव, नेपाली कांग्रेसका जिल्ला सभापति योगेन्द्र पजियार, राम युवा कमिटी, नेपाल भारत मैत्री युवा संघका धनुषा अध्यक्ष बजरंग यादव लगायत विभिन्न निकायको तर्फबाट राजदुत श्रीवास्तावलाई स्वागत र सम्मान गरिएको थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: