मधेश संवाददाता नेपाल भारत मैत्री युवा संघको धनुषा जिल्ला अध्यक्ष पदमा नेपाली कांग्रेसका युवा नेता बजरंग यादव चयन भएका छन् । जनकपुर सञ्चार दैनिकका प्रधान सम्पादकको भूमिका समेत निर्वाह गर्दै आएका यादव नमस्ते जनकपुर ग्रुप प्रालिका प्रबन्ध निर्देशक पनि हुन् । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा विशेष सक्रिय रहेका यादव स्थानीय युवामाझ परिचित अनुहार हो । उनी सामाजिक सेवाको क्षेत्रमा विशेष क्रियाशिल रहेको देखिन्छ । पेशागत रुपमा व्यवसायीको परिचय स्थापित गरेका बजरंगले प्रगतिशिल समाज निर्माणको लागि सञ्चार क्षेत्रलाई प्रबद्र्धन गर्ने हेतुले एक सञ्चार माध्यममा सम्पादनको भूमिका निर्वाह गरिरहेका हुन् । यी बाहेक आफ्नै जन्मथलोमा केही गर्ने अठोट लिएका युवाहरुलाई साथ र समर्थन दिँदै उनीहरुको मनोबल बढाउन बजरंगले चौतर्फी सहयोग गर्ने स्वभावको कारण मधेशी युवा समाजमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका हुन् । नेपालको खासगरी मधेश क्षेत्रका युवाले छिमेकी मित्र राष्ट्र भारतको संस्कृति, कला, सामाजिक संरचना र राजनीतिक विषयवस्तुसंग अवगत हुनुपर्ने तथा भारतीय युवाहरु पनि मधेश र नेपालको राजनीतिक, कला, संस्कृति एवं समाजलाई नजिकबाट बुझ्नुपर्ने आवश्यक्तालाई सम्बोधन गर्न आफ्नो जिल्ला नेतृत्वको मुख्य योजना र सपना रहेको बजरंगले बताएका छन् । नेपाल र भारतबीच विश्वकै नमूना सम्बन्ध रहेको छ । नेपाल र भारतबीच मात्र खुल्ला सिमाना छैन । बेटीरोटीको सम्बन्ध त छदैछ, भाषा, कला, संस्कृति, भेषभुषा, खानपानसँगै राजनीतिक रुपले पनि यी दुई देशबीच अन्तरनिहित सम्बन्ध रहेको छ । नेपालको हितमा भारत र भारतको हितमा नेपालका नेताहरुले संघर्ष र बलिदानी दिएको इतिहास छ, अहिले पनि सोही स्तरमा रहेको सम्बन्धलाई अझ रचनात्मक ढंगले नयाँ पुस्तामा हस्तान्तरण गर्ने जिम्मेवारीका साथ जिल्लाको नेतृत्व पाएका बजरंगले दुई देशबीचको मित्रतालाई अझ उचाइ दिने अवसर प्राप्त गरेका छन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: