मधेश संवाददाता पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री नदिए सरकार छोड्ने चेतावनी दिन थालेको करिब एक हप्ता पुगेको छ । सत्ता गठबन्धन बनाउने क्रममा भएको सहमति अनुरुप गृह रास्वपाले पाउनुपर्ने जिकिर उसको छ भने प्रधानमन्त्रीले कुनै हालतमा गृह फर्काउन नसकिने अडानमा अडिग रहेको देखिन्छ । रास्वपाले पछिल्लो पटक तीन दिन अगाडी भनेको थियो, गृह मन्त्रालय हामीलाई दिएन भने तीन दिनभित्र सरकारबाट बाहिरिन्छौं । आज रास्वपाको निर्णायक बैठक बस्दैछ । पूर्व सहमति विपरित प्रधानमन्त्रीले मन्त्रालय खोसेको भन्दै रविले गृह आफ्नो पार्टीको लागि बटमलाईन भएको र त्यो नपाए सरकारमा बसिरहनुको औचित्य नरहने सार्वजनिक रुपमा वक्तव्य दिइसकेका छन् । सोही अनुरुप निर्णय लिन आज पार्टीको बैठक बस्न लागेको हो । पार्टीभित्र रविका फ्यानका रुपमा रहेका केही नेताले रविलाई नै गृहमन्त्री नबनाए सरकारमा बसिरहन नहुने कर गरिरहेका छन् । तर, केही नेताले गृह नपाएकै कारण सरकार छाडिहाल्ने निर्णय गर्न नहुने यस अघिको बैठकमै प्रस्तुत भइसकेका छन् । त्यति मात्र होइन रवि विरुद्ध नागरिकता र पछि राहदानी सम्बन्धी मुद्दा लागेपछि पाटी फुटाउने आधारसम्मको चर्चा चलिसकेपछि रविलाई डर पनि छ । यी यावत् विषयमा अन्तिम निर्णय लिन कर र डरको बीच आज साढे ११ बजे रास्वपाको बैठक बस्दैछ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: