मधेश संवाददाता प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरु मध्ये तेस्रो ठूलो दलको हैसियतमा रहेको एमाले नेतृत्वको सरकार ढलेपछि सुदुरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने अवसर नेपाली कांग्रेसले पाएको छ । दुई भन्दा बढी दलको समर्थनमा नियुक्त भएका मुख्यमन्त्री एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि संसदको सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेस नेतृत्व गर्ने अवसर प्राप्त गरेको हो ।
संवैधानिक व्यवस्था अनुरुप गत पुस २७ गते माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थन पाएपछि मुख्यमन्त्री नियुक्त भएका एमालेका रावलले निर्धारित अवधिको अन्तिम दिन आज विश्वासको मत प्रदेशसभाबाट मागेका थिए । तर, प्रदेशसभाका बहुमत सदस्यले रावलको विश्वासको मत मागेको प्रस्ताव अस्वीकृत गरिदिएपछि उनी स्वतः पदमुक्त भएका छन् । रावलले विश्वासको मत नपाएपछि संवैधानिक व्यवस्था अनुरुप स्वतः ठूलो दलको हैसियतले नेपाली कांग्रेस प्रदेश सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको हो । प्रदेश प्रमुखले कांग्रेस संसदीय दलका नेता कमल शाहलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न लागेको प्रदेश प्रमुखको कार्यालय स्रोतले जनाएको छ ।
यसअघि एमालेलाई साथ दिएको माओवादीले कांगे्रसको नेतृत्वमा सरकार बन्ने निश्चित भएपछि अगामी सरकारलाई साथ दिने सम्भावना देखिएको छ । संसदिय निर्वाचनताका रहेको कांग्रेस, माओवादी गठबन्धनलाई नै सुदुरपश्चिममा निरन्तरता दिने सम्भावना रहेको प्रदेश स्तरीय राजनीतिक वृतमा चर्चा सुरु भएको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: