त्यसो त भन्छन्, नेपाल कानूनी राज्य हो । कानूनी राज्य भनेको कानूनको अधिनमा राज्य सञ्चालन हुनु पर्ने हो । भन्नलाई यो भएपनि व्यवहारमा नरहेको जनकपुरको एउटा सानो विषयले छर्लंग देखाइरहेको छ ।
आइतबार जनकपुरधाम उपमहानगरपालिका –९ का वडा अध्यक्ष परमेश्वर साहको कार्यकक्षमा एक जना असई भेट्न आए । असई मनोज दास मधेश प्रदेशका पूर्व मुख्यमन्त्री मोहम्मद लालबाबु राउतका सुरक्षाकर्मी हुन् । अहिले उनको दरबन्दी मधेश प्रदेश प्रहरी गणमा छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ का बासिन्दा रहेका असई मनोज दास आइतबार वडा नम्बर ९ का अध्यक्ष समक्ष आफ्नो समस्या लिएर आएका थिए । नियमतः उनको सरोकार ३ नम्बरका वडा अध्यक्षसँग हुनुपर्ने हो । असई दासले भने, ‘समान्य भनसुनको आधारमा समस्या समाधान नभएपछि वडा अध्यक्ष दिपेन्द्र साहसँग गुनासो रोखें । उहाँले राजनीतिक आधारमा मेरो विपक्षीकै पक्षमा प्रस्तुत भएपछि अदालत पुगें । अदालतले गरेको आदेश कार्यान्वयनको लागि पुनः वडा नम्बर ३ को कार्यालयमा पुगें । जानकी प्रहरी चौकी धाएँ र जिल्ला प्रहरी कार्यालय पुग्दा पनि मेरो समस्या समाधान नभएपछि सल्लाह लिन म यहाँ आएको हुँ ।’
असई दासको कुरा सुनिसकेपछि ९ नम्बरका वडा अध्यक्ष परमेश्वर साहले नगर प्रहरीलाई फोन गरी उनको गुनासो सम्बोधन गरिदिन आग्रह गरिदिए । मधेशअनलाइन संवाददाताले एक जना असईको समस्या समाधान गराउन वडा अध्यक्ष मार्फत नगर प्रहरी समक्ष सिफारिस हुनु आश्चर्य लाग्यो । हो पनि । नेपाल प्रहरीको असई भन्दा बढी पावर नगर प्रहरीमा छ त ? प्रश्न तेर्सिन्छ ।
मधेशअनलाइन संवाददाताले जानकी प्रहरी चौकीका वरिष्ठ सई राजेश सिंहसँग कुरा गर्दा उनले पावरफुल व्यक्तिहरुको विवाद जिल्ला प्रहरी कार्यालयमै जानुपर्ने बताए । ‘एक जना असई छन्, अर्को नेता’ वरिष्ठ सई सिंहले मधेशअनलाइनसँग भने, ‘दुवै जनालाई आपसमा छलफल गराउनसम्मको भूमिका मैले खेलेको हुँ । त्यतिले नभएपछि म पछि हटें । जिल्ला प्रहरी कार्यालयमै जान भन्दिनुस् ।’
जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक रायले प्रहरीको काम अदालतको आदेश वारे सम्बन्धित पक्षलाई जानकारी गराइदिनसम्म रहेको र त्यो गरिसकेको बताएका छन् । वडा नम्बर ३ का अध्यक्ष दिपेन्द्र साहले अदालतको आदेश अनुसार काम रोक्का गराइदिएको बताउँदै राती राती काम भइरहेको छ भने भन्न नसकिने प्रतिक्रिया दिए । अब असई दास कहाँ जाउन् ?
वडा नम्बर ९ को कार्यालयमा भेट्दा असई दासले भन्दै थिए, ‘अहिले मारपिट भयो भने प्रहरी दौडेर आउँछ, समस्या लिएर जान्छु, सुन्दैन ।’ एक जना प्रहरी अधिकृतले प्रहरीको काम कारवाहीबाट कतिसम्म रुष्ट छन्, भन्ने उदाहरण असई दासको अभिव्यक्ति र दुखेसोबाट झल्किन्छ । । उनी भन्दै थिए, ‘प्रहरीले पनि सोर्सफोर्स बिना सुन्दैन । म एक जना कर्मचारी न झगडा गर्न सक्छु न कसैको सोर्स लिएर ठुला हाकिमकोमा जान मिल्छ । अनि के करुँ ?’
आफ्नो निजि जग्गालाई बनाएको बाटो मिचेर घर बनाएको र उल्टै आफुलाई नै बाटो प्रयोग गर्न नसक्नेगरी थप संरचना बनाइरहेको छिमेकी विरुद्ध वडा कार्यालय, प्रहरी र अदालतसम्म पुग्दा पनि समस्याको निराकरण हुन नसकिरहेको गुनासो असई दासको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: