विरेन्द्र साह/मधेश अनलाइन जनकपुर व्यापार मेला आजबाट सुरु भएको छ । जनकपुरस्थित तिरहुतिया गाछीमा मुख्यमन्त्री सरोज यादवले एक समारोहबीच शुक्रबार उद्घाटन गरेपछि मेला शुभारम्भ भएको हो । यो मेला फागुन १४ गतेसम्म जारी रहने आयोजक जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्भुप्रसाद साहले जानकारी दिए । मेलामा खेतीका लागि आवश्यक कम्पोष्ट मलदेखि विद्युतीय चार्ज सिस्टम भएको लक्जरियस सवारी साधनसम्म बिक्रीका लागि राखिएको छ । धनुषाको गणेशमानचारनाथ नगरपालिकास्थित बरमझियाका किसान रामपुकार यादवले गाउँमै उत्पादन गरेको वर्मिंग कम्पोष्ट मल मुख्य आकर्षणको केन्द्र बनेको छ । खासगरी गमला र कौशीमा फुल रोप्ने शोखिन व्यक्तिहरुले कम्पोष्ट मल खरिद गरिरहेको यादवले जनाए । उनका अनुसार कम्पोष्ट मल धेरैको च्वाइस बनिरहेको छ । यस्तै, मधेशको स्थानीय तरकारीको रुपमा विरिया, अदौरी, कुम्हरौरी, आलुसुखरी लगायत तरकारी बिक्रीका लागि राखिएको छ । हस्तकला सामग्रीहरु, मिथिला कला, मोबिल, चार्ज भएको र पेट्रोलमा चल्ने स्कुटी, मोटरसाइकल, ट्रयाक्टर, जीपसँगै लत्ताकपडाहरु पनि मेलामा बिक्रीका लागि उपलब्ध रहेको आयोजक संघकी सदस्य आशा यादवले जानकारी दिइन् । उनले स्थानीय उत्पादनलाई बजारीकरणसँगै जनकपुरका व्यापार, व्यवसायलाई प्रबद्र्धन गर्ने उदेश्यले मेलाको आयोजना गरेको बताइन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: