सुरेश यादव
कुटिल चालले राष्ट्रिय राजनीतिलाई आफ्नो प्रभावमा पार्न उद्धत देखिएका एमाले अध्यक्ष केपी शर्मा ओली यतिबेला लाचार भएका छन् । कुनै बेला माओवादीलाई एमालेमा गाभेर लगभग प्रचण्डलाई तह लगाइसकेका ओलीले एमालेलाई उचाइ दिलाउन ऐतिहासिक भूमिका निर्वाह गर्ने माधव नेपाललाई पनि पछार्नसम्म पछारे । यतिबेला कुनै दाउ नलागेपछि तिनै प्रचण्ड र माधवको शरणमा पुगिरहेका ओली उनीहरुको पनि साथ नपाएपछि लाचार अवस्थामा पुगेका हुन् ।
अघिल्लो निर्वाचनमा नेपाली कांग्रेससँग जित्न नसक्ने अवस्था ओलीले बुझिसकेका थिए । त्यस अघि ओलीले उचालेको नारा थियो राष्ट्रवाद । निर्वाचनपछि उनी आफैले उचालेको नाराको मर्म विपरित जनतामा चित्रित हुन पुगे । त्यसैले जुनसुकै सम्झौता गर्न पनि माओवादीसँग उनी तयार भए । देशभरका कम्युनिष्ट एक हुने नाराको सहारामा चुनाव त जिते । तर, देशलाई त के आफ्नै पार्टीलाई पनि संचालन गर्न र सम्हाल्न सकेनन् । पार्टी अध्यक्ष र देशका प्रधानमन्त्रीकै ओहोदामा बसेर पार्टी र देश दुवैको हित विपरित क्रियाकलापमा उद्धत भए । परिणामस्वरुप पार्टीभित्र उनीपछि रहेका नेताहरु प्रचण्ड र माधव नेपालले विद्रोह गरे भने देश र संविधान जोगाउन जनता सडकमा उत्रिन बाध्य भए ।
कम्युनिष्ट एकताको बलमा सदनमा सबैभन्दा ठूलो दलको हैसियत बनाएर सरकारको नेतृत्व गरेका ओली आफ्नै वद्नीयत सोचका कारण प्रधानमन्त्री पद मात्रै गुमाएनन् । जुन संविधानलाई टेकेर प्रधानमन्त्री भए त्यही संविधानको हत्या गरेको आरोपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक वृतमा कलंकित समेत हुन पुगे । पछिल्लो निर्वाचनमा ओलीको कुनै दाउ लागेन । कांग्रेस फेरी सदनमा ठूलो दलको हैसियत प्राप्त गर्न सफल भयो । निर्वाचनमा भाग लिएको गठबन्धनमा आवद्ध राजनीतिक दलहरुबीच स्वभाविक शक्ति सन्तुलन मिलाउने क्रममै ओलीले एक पटक फेरी कुटिल चाल खेलेर प्रचण्डलाई उक्साइदिए । तत्काल ओलीको उक्त कुटनीतिले माओवादी लाभान्वित भएपनि ओली नेतृत्वको एमाले आफै यतिबेला संकटमा परेको छ ।
राष्ट्रपति निर्वाचनको प्रक्रियामा ओलीले दावी गरे अनुसार नयाँ राष्ट्रपति पाउन नसक्ने मात्र होइन, संघीय सरकार र प्रदेश सरकारहरुबाट समेत बाहिरिनुपर्ने अवस्था देखिदैछ । हिजोसम्म पुस १० को सहमति रटान लगाइरहेका ओली आज प्रचण्डले भने जस्तै राष्ट्रिय सहमतिको नाउँमा माधव नेपाललाई अघि सार्न खोजे । ओलीले माधव नेपालको नाम लिएर सरप्राइज दिन खोजेको जस्तो गरेपनि उनको यो चालवारे माओवादी केन्द्रीय बैठकमा अघिल्लै साता छलफल चलिसकेको रहेछ । सकेसम्म एमालेको राष्ट्रपति दोहोर्याउने र नसके माधव नेपाललाई अघि सार्ने उनको दुवै दाउ असफल जस्तै भइसकेको छ ।
आफु प्रधानमन्त्री पदमा आसिन रहेसम्म ओलीले अरुलाई त के तत्कालिन आफ्नै पार्टीका वरिष्ठ नेता प्रचण्ड र माधव नेपाललाई बाल दिइरहेका थिएनन् । अहिले ओलीकै प्रस्तावमा प्रधानमन्त्री भइसकेपछि प्रचण्डले बदला लिन थालेको देखिन्छ । पछिल्लो पटक प्रचण्ड प्रधानमन्त्री भएदेखि कम्तीमा ३० पटक ओलीले बालुवाटार धाइसके । तर, प्रचण्डले बाल नदिएपछि उनी रन्थनिन् थालेको देखिन्छ । अब हेर्न बाँकी छ, ओलीले प्रस्ताव गरेका उम्मेदवारको विकल्पमा माओवादीले समर्थन गरेपछि के हुने हो ?
निर्वाचन तालिका अनुसार यही फागुन १३ गते राष्ट्रपति पदको उम्मेदवारी दर्ता हुँदैछ । त्यस अगावै प्रमुख दलहरु नेपाली कांग्रेस, एमाले र माओवादीले मुलुकका तेस्रो राष्ट्रपति पदमा कसलाई अघि सार्ने भन्ने विषयमा टुंगो लगाइसक्नुपर्नेछ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको