सुरेश यादव /मधेश अनलाइन संघीय गणतान्त्रिक नेपालका लागि तेस्रो राष्ट्रपति को आउँदैछन् ? यहीँ फागुन २५ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न एक दिनमात्र बाँकी रहँदासम्म अन्यौल कायमै छ । अर्थात्, देशका राष्ट्रियसभा, प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यहरु मतदाता रहेको यस निर्वाचनबाट को राष्ट्रपति पदमा निर्वाचित होलान् भन्ने विषय अझै अनिश्चित छ । बिहीबार दिनभरको राजनीतिक सरगर्मीलाई नियाल्दा अब के हुन्छ त ? यो प्रश्नले भोली शनिबार राष्ट्रपति पदका लागि कुन दलबाट को उम्मेदवार हुँदैछन् ? कुन दलले कसलाई समर्थन गर्लान् ? उपराष्ट्रपति पद कुन दलको भागमा पर्ने हो ? र, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनपछि सत्ता समिकरण कसरी अगाडी बढ्ला ? अहिलेकै अवस्थामा ? या, नयाँ गठबन्धन बनाएर ? यी र यस्तै उप–प्रश्नहरु उब्जाएको छ । अस्ति बुधबार साँझ नेपाली कांग्रेस र नेकपा एसका शिर्ष नेताहरुबीच गहन छलफल भयो । कांग्रेस सभापति शेरबहादुर देउवा र एस अध्यक्ष माधव नेपालबीचको भेटवार्ता टुंगिए लगत्तै देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भयो । त्यहाँसम्म एक किसिमको स्वभाविक सन्देश प्रवाह भइरहेको थियो । एमाले र माओवादी एकीकरण गरी नेकपा बनाएपछि माओवादीलाई खत्तमै पार्ने गरी प्रस्तुत भएका केपी ओलीसँग प्रचण्ड अझै सशंकित रहेको उनका विभिन्न वक्तव्यले बोध गराउँछ । ओलीले भोली फेरी आफुलाई घेराबन्दीमा पार्न सक्ने सम्भावनालाई आंकलन गर्दै प्रचण्डले ओलीलाई छलेर कांग्रेसलाई राष्ट्रपति दिने मनस्थितिमा रहेको बुधबार साँझसम्मको राजनीतिक गतिविधिहरुले देखाइरहेको थियो । बिहीबार दिनभरको बालुवाटार र सिंहदरबारको राजनीतिक गतिविधिले भने अर्कै संकेत पनि गरिरहेको देखिन्छ । बिहीबार दिउँसो प्रधानमन्त्री प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भेटघाट भयो । लगत्तै प्रधानमन्त्री प्रचण्डले एस अध्यक्ष माधव नेपालसँग छलफल गरे । र, अबेर साँझ तीन वटै दलहरु माओवाद, जसपा र एसका शिर्ष नेताहरुबीच घनिभूत छलफल चल्यो । र, निष्कर्ष के आयो भने राष्ट्रपति निर्वाचनको सन्दर्भमा शुक्रबार अर्थात् उम्मेदवारी दर्ता हुन एक दिनमात्र बाँकी रहँदा एमालेसँग अन्तिम पटक प्रधानमन्त्री प्रचण्डले छलफल गर्नेछन् र कांग्रेससँग पनि छलफल गर्ने । बिहीबार तीन दलहरु जुन दलहरु मिलेर पार्टी एकता गर्ने या मोर्चा बन्दी गरी समाजवादी केन्द्र बनाउन पहिल्यैदेखि छलफल चलिरहेको छ । तिनीहरुबीचको छलफलपछि एमालेसँग अन्तिम छलफल गर्ने निचोडले लगभग एमालेलाई एउटा सन्देश दिन खोजेको देखिन्छः राष्ट्रपति एसलाई, उपराष्ट्रपति जसपालाई र प्रधानमन्त्री माओवादीलाई अनि सभामुख एमालेलाई दिएर पाँच वर्षसम्म यो गठबन्धनलाई अगाडि बढाउँ । यतिमा एमाले तयार नहुने सम्भावना प्रष्ट देखिइरहेको हुँदा कांग्रेसको पनि साथ गुमाउन नहुनेमा उनीहरु सचेत देखिन्छन् । तीन दलीय मोर्चाको प्रस्तावमा एमाले तयार नभएको अवस्थामा कांग्रेसलाई राष्ट्रपति दिएर उपराष्ट्रपति जसपालाई दिने अनि अन्तिमको एक वर्ष वहाल रहनेगरी एसलाई प्रधानमन्त्री दिने शर्तमा नयाँ समिकरण बन्न सक्छ । अब के हुन्छ ? संकेत शुक्रबार दिनभरको राजनीतिक भेटवार्ता र छलफलले देखाउने छ । तर, जे भएपनि अहिलेको सत्ता समिकरणमा कांग्रेस इन र एमाले आउट हुने सम्भावना प्रवल देखिइरहेको छ । दुई पटक आवेगात्मक निर्णयकै कारण सत्ताको नेतृत्वबाट अलग हुनुपरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री पदमा वहाल भएदेखि नै स्थिर भएर सत्ता सञ्चालन गर्ने मुडमा रहेको देखिन्छ । कुनैबेला ओलीले प्रचण्डलाई सत्ता र पार्टी दुवैको मुख्य भूमिकाबाट निष्क्रियजस्तै बनाइदिएका थिए । त्यसको दुई वर्ष बित्दा नबित्दै प्रचण्डले ओलीलाई पढाउनसम्म राजनीतिक पाठ पढाइदिएका छन् । यो सुझबुझ कायम रहे कम्तीमा अगामी निर्वाचनको बेलासम्म सदनमा तेस्रो शक्ति रहेर पनि देशको राजनीति प्रचण्डकै वरीपरी घुम्ने निश्चित देखिन्छ ।
तर, यति भनिरहँदा माथि चर्चा नभएको अवस्था पनि आउन नसक्ने भन्न सकिदैन । त्यो भनेको बिहीबार साँझ सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको छलफल मुताबिक राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री सबै पद आफ्नै पोल्टामा राख्ने ज्यादा चलाखी गर्न थाले सबै पद गुम्ने अवस्था पनि आउन सक्छ । त्यो भनेको समाजवादी केन्द्रको नाउँमा मोर्चाबन्दी गरिरहेको माओवादी, जसपा र एसले सबै पद आफै हत्याउने खेलमा लागे कांग्रेस र एमाले मिलेर सबैलाई तह लगाइदिन पनि सक्ला नि !
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: