प्रदेश–१ को नाम कोसी राख्न प्रदेश–१ का प्रमुख दल एकमत भएका छन् ।
नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) कोसी प्रदेशमा एकमत भएका हुन् । नेकपा एमालेले कोसी प्रदेश नाम राख्न प्रस्ताव दर्ता गराएकोमा नेपाली कांग्रेसले समर्थन गरेको थियो ।
संविधानको धारा २९५ को उपधारा २ तथा प्रदेश–१ को प्रदेशसभा (पहिलो संशोधन) नियमावली, २०७५ को परिच्छेद १०, नियम ५८ को उपनियम (ख) १ साग सम्बन्धित २९५ को उपधारा (२) बमोजिमको यस प्रदेशको नामकरण तपसिलमा उल्लेखित नाम कायम गरियोस् भन्ने प्रस्ताव दर्ता गराइएको हो । कांग्रेसको आज बसेको दलको बैठकले कोसी प्रस्तावलाई समर्थन गरी अघि बढ्ने निर्णय गरेको थियो ।
“प्रदेशले आफ्नो नामकरण प्रदेशसभाबाट आफैले गर्नुपर्ने दायित्व पूरा गर्नका लागि यस प्रदेशमा विकसित भएका हिन्दु धर्म, बौद्ध धर्मको दर्शन, किरात सभ्यता, मिथिला सभ्यता, लिम्बुवान संस्कृति, बिराट क्षेत्रको इतिहास, कोच संस्कार र संस्कृति समेतलाई समेट्ने गरी तथा कोसी नदी र यसका शाखा नदीहरूमै ऐतिहासिक, धार्मिक तथा जातजाति, भाषा, सभ्यता र संस्कृतिको विकास भएकोले यस क्षेत्रको मूल आधारको रुपमा हिमालदेखि पहाड र तराईको भू–भागमा कोसी नदी प्रवाहको क्षेत्र भित्रै सम्पूर्ण अवस्थाको वर्तमान र भावी विकास र समृद्धि समेत जोडिएको हुनाले यस प्रदेशको नाम कोसी प्रदेश राख्न उपयुक्त ठानिएको छ” प्रस्तावमा उल्लेख छ ।
यसैगरी संसदीय दलको बैठकबाट माओवादी केन्द्रले समेत कोसी प्रदेशका पक्षमा मतदान गर्ने निर्णय गरेको छ । माओवादी संसदीय दलको बैठक बसेर कोसीको पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद गणेश उप्रेतीले जानकारी दिएका छन् । “हाम्रो दलको बैठकले कोसीमै मतदान गर्ने निर्णय गरेको छ,” उनले भने । प्रदेशसभामा माओवादी केन्द्रका १३ सांसद छन् ।
Copyright © 2023, All Rights Reserved | Developed By ProTech