सुरेश यादव, मधेश अनलाइन । बुधबार पूर्व राजा ज्ञानेन्द्र शाहले राप्रपाका शिर्ष नेताहरुलाई झापामा भेट गरेका छन् । केही समय अघि राजालाई पुनस्र्थापित गराउने अभियानमा लागेका दुर्गा प्रसाइको कार्यक्रमलाई पनि शाहले झापामै सम्बोधन गरेका थिए । बुधबार राप्रपाका अध्यक्ष, उपाध्यक्ष, महासचिव समेतका शिर्षस्थ नेताहरुलाई भेटेर नेपाली राजनीतिको समसामयिक विषयमा गहन छलफल गरेका छन् ।
कुनै बेला केपी ओलीले झापाबाटै हिंसात्मक गतिविधिमा लागेर चर्चा बटुलेका थिए । ओली अहिले पनि झापाबाटै निर्वाचित भइरहने नेता हुन् । अहिले राजालाई सतहमा ल्याउने अभियानमा लागेका दुर्गा प्रसाइँ ओलीकै विश्वास पात्र हुन् । केही समय अघि एमालेले प्रसाइँलाई कारवाही गरी पार्टीबाट निकालेको विज्ञप्ती जारी गरेपनि अघिल्लो सरकारमा ओलीले राप्रपालाई प्राथमिकता दिएर सरकारमा ल्याउनु, चुनावको बेला गठबन्धन गर्नु, अहिले दुर्गा प्रसाइँलाई राजाको पक्षमा क्रियाशिल गराउनु र पूर्व राजा शाहले झापाबाटै अर्थपुर्ण राजनीतिक सक्रियता बढाउनु जस्ता गतिविधिले केही त संकेत गरिरहेको छ ।
बुधबार राप्रपाका अध्यक्ष राजेन्द्र लिंगदेन, उपाध्यक्ष रविन्द्र मिश्र, महासचिव धवलशमशेर राणा र नेता प्रकाशचन्द्र लोहनी लगायत नेताहरु शाहसँग भेटेका हुन् । दुई घण्टा लामो चलेको उनीहरुको छलफलमा देशको वर्तमान राजनीतिक अवस्था, राजतन्त्रको सम्भावना, भूराजनीतिक स्थिति लगायत सन्दर्भमा कुराकानी भएको भेटमा सहभागी एक नेताले बताए । यी गतिविधिहरुले पूर्व राजा ज्ञानेन्द्र शाह पूर्वबाटै सक्रिय राजनीतिक गतिविधि सुरुवात गर्ने संकेत गरिरहेको देखिन्छ । यद्यपि उनको राजनीतिक सक्रियताले अहिलेकै अवस्थामा धेरै फरक पार्न नसक्ने राजनीतिक जानकारहरु बताउँछन् ।

सम्बन्धित खवर