कोशी (सुनसरी) । ‘दुनियाँलाई जस्तो हेर्न चाहन्छौ, तिमी आफुलाई त्यस्तै परिवर्तन गर’ भन्ने मूल नाराको साथ क्रियाशिल रहेको परिवर्तनको अभियान नेपालले कोशी संवाद कार्यक्रमको आयोजना गरेको छ । सुनसरीस्थित कोशी गाउँपालिकाको सहकार्यमा आयोजित संवादले समाज र देश परिवर्तन गर्न व्यक्ति–व्यक्तिमा परिवर्तनको आवश्यक्ता रहेको औल्याएको छ ।
‘समाजमा अनि देशमा परिवर्तनको खाँचो छ भनेर सबैले भन्छन् तर आफैभित्र परिवर्तन गर्नुपर्ने आवश्यक्ता कसैले महसुस गर्न नसकिरहेको अवस्थामा कोशी संवादले व्यक्तिमा परिवर्तन ल्याउन उदाहरणीय भूमिका खेलेको छ’ आइतबार कोशी संवाद समापन समारोहलाई सम्बोधन गर्दै कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीले भने । देशमा सकारात्मक परिवर्तनका लागि सामाजिक रुपान्तरणको आवश्यक्ता रहेको उल्लेख गर्दै गाउँपालिका महासंघका कोशी प्रदेश अध्यक्ष समेत रहेका अन्सारीले भने, ‘सामाजिक रुपान्तरणका लागि व्यक्तिमा परिवर्तन आवश्यक छ ।’


गाउँपालिकामा भौतिक पूर्वाधारसँगै सामाजिक विकासको मुद्दालाई प्रभावकारी ढंगले सम्बोधन गरेकै आधारमा आफु कोशी गाउँपालिकाको नेतृत्व गर्न दोस्रो पटक पनि अवसर प्राप्त गरेको बताउँदै उनले जनप्रतिनिधिको हैसियतले गाउँपालिकाको जनजिविका माथि उकास्नु आफ्नो पहिलो कर्तव्य भएको बताए । यसै क्रममा नयाँ पुस्ताका युवाहरुलाई व्यवहारिक शिक्षाको माध्यमले कर्तव्यबोध गराएर नेतृत्व हस्तान्तरण गर्ने उनको योजना छ । परिवर्तनको अभियानले आफ्नो योजना सकार पार्न सहयोगीको भूमिका निर्वाह गरेको बताउँदै अध्यक्ष अन्सारीले जनप्रतिनिधि इमान्दार र दृढसंकल्पित भए समाजको मुहार फेर्न धेरै समय नलाग्ने तर्क गरे ।


कार्यक्रममा परिवर्तनको अभियान नेपालका महासचिव सरोज ढुंगानाले बाटोघाटो, बिजुली, सिँचाइ र सामुदायिक भवन विकासका पूर्वाधार भएपनि सभ्य समाज निर्माण गर्न त्यतिमात्रले नपुग्ने बताए । समाजमा दायित्वबोध भए पूर्वाधार विकास गर्न पनि सहज हुने उल्लेख गर्दै उनले सभ्य समाज निर्माणका लागि समाजका अगुवाहरुको व्यक्तित्वमा परिवर्तन हुनुपर्ने ढुंगानाको भनाइ छ । उनले व्यक्ति व्यक्तिमा परिवर्तन भए समाज र समाज समाज परिवर्तन भए देश अनि देश देश परिवर्तन भए विश्वमा सकारात्मक परिवर्तन हुने बताए । यसका लागि पहिलो सुरुवात आफुभित्र परिवर्तन गर्नुपर्ने उनको सुझाव छ । आज आफुभित्र परिवर्तन गरेकाहरु देशव्यापी रुपमा स्वयंसेवकको रुपमा परिवर्तनको अभियानलाई अगाडी बढाइरहेको परिवर्तनका अभियानी विजय पौडेलले बताए ।


तीन दिवसीय कोशी संवादमा सहभागी कोशी महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष गीता पौडेलले यस्तो कार्यक्रम वडा र टोलस्तरमा सञ्चालन गर्नुपर्ने बताइन् । तीन दिनमै आफुभित्रको कमीकमजोरी पत्ता लगाएर परिवर्तनको आवश्यक्ता महसुस गरेकी उनले सहकारीमा आवद्ध महिलाहरु अनि व्यवस्थापन पक्षलाई समेत यस्तै कार्यशालामा सहभागी गराउन अनुरोध गरिन् । सोही सहकारी संस्थाकी प्रतिनिधि जानकी सिवाकोटीले टोल स्तरमा सकारात्मक परिवर्तनको अभियान संचालन हुनुपर्ने बताइन् ।


शुक्रबार कोशी गाउँपालिकास्थित अक्वा बर्डस् इको रिसोर्टमा गाउँपालिकाकी उपाध्यक्ष अनिता यादवले उद्घाटन गरेको कोशी संवादलाई आइतबार गाउँपालिका अध्यक्ष अयुब अन्सारीले समापन गरे । उनले तत्काल तीन दिवसीय संवाद कार्यक्रमको समापन गरेपनि कोशी गाउँपालिकामा यो अभियान सुरु भएको घोषणा गरे । गाउँपालिकाका हरेक व्यक्तिले यो अभियानको वारेमा जानकारी हुनुपर्ने र आफुभित्र सकारात्मक परिवर्तन गर्न उत्प्रेरित हुने खालका कार्यक्रमहरु सञ्चालन गर्न परिवर्तनको अभियान नेपालसँग अन्सारीले अनुरोध गरे ।
कोशी संवादमा जनप्रतिनिधि, कर्मचारी, विद्यार्थी, महिला अधिकारकर्मी, सामाजिक अभियन्ता र युवाहरुको उपस्थिति थियो । उनीहरुले अभियानको सार्थकतालाई महसुस गरी निरन्तरताका लागि आफुहरु पनि स्वयंसेवी भावनाले जोडिने घोषणा गरे । खासगरी परिवर्तनको अभियानले पवित्रता, इमान्दारिता, निस्वार्थता र मायालाई आफ्नो मूल्य र मान्यताको रुपमा आत्मसात गरेको र यसलाई व्यक्तिगत जीवनमा प्रयोगका लागि उत्प्रेरित गरेको सन्दर्भले आफुहरुलाई सामाजिक अभियन्ताको रुपमा चिनाउन सहभागीहरुले इच्छा जाहेर गरेका थिए ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको