मधेश अनलाइन । धनुषाको सबैला नगरपालिका –२ बस्ने मुसहरु (वुधुलाल) यादवको चार वर्षीय छोरालाई धनुषा प्रहरीले आठ दिनदेखि थुनामा राखेको छ । मुसहरुले दिएको ऋण फिर्ता माग्न गएपछि ऋणिले उजुरी दिएको आधारमा प्रहरीले उनीसमेत श्रीमति र चार वर्षीय बालकलाई नियन्त्रणमा लिएको हो । उनीहरु विरुद्ध कारवाही हुने जाहेरी छैन । तर, माथिको आदेश भन्दै थुनामा राख्नुपरेको प्रहरी बताउँछ । आमा बाबुसमेत चार वर्षीय निर्दोष बालक प्रहरी थुनामा परेको सातौ दिन बुधबार उनीहरुलाई थुनामुक्त गराउन समाजका अगुवाहरु जिल्ला प्रहरी कार्यालय पुगेर पहल गरे । जिल्ला प्रहरी प्रमुख एसपी विश्वराज खड्काका अनुसार मुसहरु परिवार विरुद्ध खास मुद्दा छैन । मिटरब्याज विरुद्ध केही दिनदेखि देशव्यापी आन्दोलन चलिरहेको छ । सोही आन्दोलनमा सहभागी भएर काठमाडौंमा सञ्चार माध्यम समक्ष दिएको वक्तव्य निकै प्रचारित भयो । सोही आधारमा गृह मन्त्रालयले गरेको निर्देशन बमोजिम मुसहरु परिवार पक्राउ परेको खड्काको भनाइ थियो । ‘मिटरब्याजी भनिएको छ । तर, मिटरब्याजी भनेर मुद्दा लगाउने आधार छैन’ प्रहरी भन्छ, ‘माथिको आदेश छ, तत्काल छोड्न पनि नसक्ने भएपछि अभद्र व्यवहार भनेर अल्झाएर राखेका छौं ।’ चार वर्षीय बालक कुन अपराध गरेर थुनामा बस्नु परेको भन्ने जवाफ प्रहरीसँग छैन । मुसहरुको तर्फबाट यथार्थ बुझ्न जिल्ला प्रहरी कार्यालय पुगेका विजय यादवले मधेश अनलाइनसँग भने, ‘एसपी साबले पीडित महिलालाई भेटेर कन्भिन्स गर्नुस् अर्को विकल्प छैन भन्नु हुन्छ । पीडित महिलासँग कुरा गर्छु उहाँले मेरो हातमा केही छैन मेरो नेतासँग कुरा गर्नुस् भन्नुहुन्छ । हामी कहाँ जाउँ । कसलाई के भनुँ ?’ उनीहरुले मिटरब्याज विरुद्धको आन्दोलनको अगुवाइ गर्ने सिरहाका मनोज पासमानलाई भेट्न खोजे । दुई दिनदेखि फोन सम्पर्क भइरहेपनि भेट्न नसकिएको उनीहरु बताउँछन् । फोनमा पासमान भन्छन्, ‘प्रहरीले थुनेको प्रहरीसँग कुरा गर्नुस्, मलाई के भन्नुहुन्छ ?’ मधेश अनलाइनको जिज्ञासामा प्रहरी भन्छ सिडिओसँग कुरा गर्नु । सिडिओ काशीराज दाहाल भन्छन्, ‘म बुझ्दैछु ।’ पीडित भनिएको व्यक्ति आन्दोलनकारी नेताको आदेश बिना केही गर्न र भन्न नसकिने बताएपछि पीडित भएका मुसहरु परिवारलाई न्याय दिलाउन बन्दी प्रत्यक्षीकरणको मुद्दा चलाउन र मानव अधिकार आयोगलाई गुहार्नुको विकल्प नरहेको विजयले बताए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: