सुरेश यादव, मधेश अनलाइन ।

साथीले फोन गर्योः नयाँ वर्षको के छ योजना ?
मैलेः के योजना हुनु नि ! सबथोक मिलेको छ भने आज पनि नयाँ वर्ष, भोली पनि नयाँ वर्ष । हैन भने नयाँ वर्षको दिन पनि खुशी हुन सकिदैन ।
साथीः यो त हाम्रो नयाँ वर्ष हो नि !
मैलेः त्यो त हो । तर, ………….
साथीः तर के ?
मैलेः मेरो लागि यो वर्ष एकदमै निरस रह्यो । कुन्नि नयाँ वर्षमा राम्रो होला कि !
साथीः ल न त केही सोच्नुभयो भने भन्नुहोला ।

हुन त हो पनि । बहाना नयाँ वर्षको भएपनि । एक दिनकै लागि भएपनि । केही वेरकै लागि भएपनि । खुशी हुन त पाइन्छ । कति दुखी भएर मात्र टोलाइरहने । आखिर सुख र दुःख भनेको सोच त हो । समय र परिवेशले मानिसलाई सुखी र दुखी भएको महसुस गराउने हो । समय ठिकै चलिरहेको छ भने खुशी होइन्छ । समय उल्टो चलिरहेको छ भने दुख लागिरहेको हुन्छ ।
फेरी यो समय भनेको कुरो पनि … । समय त सँधै सुल्टै चल्ने हो । उल्टो चलेको जस्तो लाग्ने पनि त हाम्रो सोचै न हो । समय न छिटो चल्छ न ढिलो । समय न उल्टो चल्छ न बाङ्गो । समय त सँधै सँधै उस्तै चल्ने हो । हिजो पनि । आज पनि । भोली पनि यस्तै चलिरहने हो । त्यसैले त समय, समय हो । समयलाई दोष लगाएर कहाँ खुशी पाइन्छ र ?
बरु मैले हुनुपर्छ समयलाई बुझ्न नसकेको । समयलाई मैले बुझ्न सकेको भए सायद मैले मेरो खुशीलाई गुमाउने थिइँन कि ! समय त सँधै बिहान भएर आउँछ, क्रमिक रुपमा सँधैको जस्तै एउटै गतिले अघि बढिरहन्छ । दिउँसो हुन्छ । साँझ हुन्छ । राति हुन्छ । फेरी बिहान । समय त समय हो । यो सँधै सुल्टो नै हिँड्छ । उल्टो भएको त हाम्रो सोच हो ।
बरु, म पो उल्टो चलिरहेको छु कि ! बिहान समयमै उठ्ने र दिनभर समयसँगै नित्यकर्म अनि आफ्नो आवश्यक्ताको जोहो गर्न चलायमान हुनुपर्ने हो नि मैले त । तर, खै त्यस्तो मैले गरेको छु त ? अहँ । छैन । गल्ती मेरै छ । समयको गतिलाई वास्ता नगर्ने । समयलाई मतलब नै नदिने । समयलाई कदरै नगर्ने । अनाहक चिन्ता गरिरहने । अनि समय गइसकेपछि, समयले साथ दिएन भन्ने ? धत् । के गरेको यो मैले । अहँ यस्तो गर्नु हुँदैन । समयको संवेदनशिलतालाई मैले बुझ्नै पर्छ । समयलाई मैले कदर गर्नैपर्छ । यस्तो भयो भने, खुशी हुनकै लागि नयाँ वर्षलाई कुरिरहनुपर्छ त मैले ? नाइँ । आजबाट सुध्रिनुपर्छ । सुध्रिनैपर्छ मैले ।
शुक्रबार । आउन लागेको शुक्रबार । हो । शुक्रबार नयाँ वर्ष २०८० को पहिलो दिन हो । जसरी मैले लामो समयदेखि त्यो दिन खुशी मनाउने सोच बनाइरहेको थिएँ । त्यस्तै सँधै । सँधैभरि । खुशी रहन सकिन्छ । हरेक दिन नयाँ हो । हरेक दिन खुशी पाउन सकिन्छ । यदि समयलाई सम्मान गर्न सके । समयको लयमा चल्न सके । समयको गतिलाई पछ्याउन सके । सकिन्छ । सँधै खुशी लिन सकिन्छ । सँधै सुखी रहन सकिन्छ । समय । म समयको चाकर हुँ । र चाकर रहिरहन्छु समयको ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको