सोमबार बिहानैदेखि रत्नपार्कको शान्तिवाटिका पार्क प्रहरीले घेरिएको थियो । केही दिनदेखि देशका विभिन्न स्थानबाट आएर काठमाडौंमा बसिरहेका मिटर ब्याज पीडितले आज मार्च पाससहित उच्च सरकारी निकायका कार्यालय घेराउ गर्ने योजना बनाएका थिए । त्यही योजना थाहा पाएर प्रहरी बिहानै शान्तिवाटिका पुगेका थिए ।

९ बजेसम्म सामान्य अवस्था थियो। पीडित १२ बजेपछि मार्चपासमा निस्कने जानकारी भएपछि प्रहरीले शान्तिवाटिकाको मुख्य गेटमा ताला लगाइदियो ।

पीडित आन्दोलनमा जानै पाएनन्। पीडितले प्रहरीलाई पटक-पटक ताल्चा खेल्न आग्रह गरे । लामो समयसम्म अनुरोध गर्दा नमानेपछि पीडित आक्रोशित भए ।  त्यही क्रममा प्रहरी र पीडितबीच झडप भएको मिटर ब्याज तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समिति रौतहटका अध्यक्ष शिवशंकर महत्तो बताउँछन् ।

‘शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी पहिले नै गराएका थियौं । प्रहरीले बाहिर निस्कन नदिएपछि आक्रोश पोखेका हौं,ʼउनले भने ।

प्रहरीले सुरक्षा दिनुको सट्टा पीडितलाई उल्टै नियन्त्रणमा राख्यो । महिला,  वृद्ध-वृद्धासमेत नभनी प्रहरीले सबैलाई लाठी चार्ज गर्‍यौ ।  प्रहरीको लाठी लागेर ४ जना गम्भीर घाइते भएका छन्। केही मिटर ब्याज पीडितलाई प्रहरीले पक्राउ गरेको छ ।

‘प्रहरीले पक्राउ गरेका व्यक्ति कहाँ-कहाँ छन् भन्नेबारे थाहा छैन, खबर लिने प्रयास गरिरहेका छौं,ʼ अध्यक्ष महतोले भने ।

गम्भीर घाइते हुनेमा ऐक्यवद्धता जनाउन पुगेका अधिवक्ता, अधिकारकर्मी, पीडित, स्वयंसेवक पनि छन् । अधिवक्ता यमकुमारी ददेल (यमुना), कुलबहादुर थापा, मदन प्रभात घाइते भएका छन् । त्यस्तै लोकनारायण सुवेदी, अकबर मिया, कृष्ण महतो, प्रदीप नेपाल,  संगीतादेवी चमार सामान्य घाइते भएका छन् । उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

सामान्य घाइते भएकाहरू कोही प्रहरीको नियन्त्रणमा छन् भने कोही वाटिकामै छन् । १७ दिनदेखि पीडित बस्दै आएको वाटिकाको अवस्था आज फेरिएको छ । त्यहाँ बस्नका लागि बनाइएका त्रिपाल प्रहरीले च्यातिदिएको पीडितको आरोप छ ।

खाद्यान्न, भाँडा पनि प्रहरीले फ्यालिएपछि पीडित थप चिन्तित बनेका छन् ।

मिटरब्याज पीडितले सोमबारसम्म ६ पटक सरकारसँग वार्ता गरिसकेका छन् । पटक-पटक वार्तामा ठोस निर्णय गर्न नसकेकाले सोमबार उच्च सरकारी निकायका कार्यालय घेराउ गर्ने तयारी गरेका थिए । तर, पीडित शान्तिवाटिका पार्कबाट बाहिर निस्कनै पाएनन् ।

पीडित आफ्ना समस्या सुल्झाएर मात्र गाउँ फर्किने योजनामा थिए । प्रहरीको आजको झडपले उनीहरूको त्यो सपना मारिदिएको पीडितलाई साथ दिन पुगेकी स्वयंसेवक अस्मिता बादी बताउँछिन् ।

मिटर ब्याज पीडितले ताला खोल्न जबरजस्ती गरी ढुंगा हानाहान गर्न थालेपछि प्रहरी लाठीचार्ज गर्न बाध्य भएको केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले बताए।

‘पीडित १५ र प्रहरीमा प्रहरी उपरीक्षकसहित १० जना घाइते भएका छन्,ʼ उनले भने, ‘सबैको अवस्था सामान्य छ ।ʼ

उनका अनुसार ३५ पीडितलाई प्रहरीले नियन्त्रणमा लिएर महानगरीय प्रहरी कार्यालय रानीपोखरी र दरबारमार्गमा राखेको छ । उनीहरूलाई तत्काल छाड्ने कि नछाड्नेबारे थप छलफल भइरहेको छ ।

पीडितले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने सूचना पाएकाले रोक्ने कोशिशमात्र गरेको प्रहरीको दाबी छ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको