एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले सानदार सुरूवात गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो ।
२३६ रनको लक्ष्य पछ्याएको नेपालले ३६.२ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ७१ रन बनाए भने कुशल मल्लले बिस्फोटक ब्याटिङ गरे। उनले ४० बलमा ५ चौका र ५ छक्काको मद्दतमा ७० रन बनाए ।
जवाफी ब्याटिङ गरेको नेपालले पहिलो ओभरमै ओपनर आशिफ शेखलाई १ रनमा गुमाएको थियो। त्यसपछि कुशल भुर्तेलले ब्याटिङलाई लयमा ल्याएका थिए । ३८ रन बनाएर भुर्तेल पेबेलियन फर्किएपछि नेपाललाई सुरुवाती दबाब भएको थियो । पछि कप्तान रोहित कुमार पौडेल र भीम सार्कीले ब्याटिङलाई लयमा फर्काए। पौडेलले ४२ रनको योगदान गरे भने सार्कीले अर्धसतकीय पारी खेले ।
टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २३५ रनको योगफल तयार पारेको थियो। मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान गरे । ९५ बलमा ७६ रन बनाएका फैजले ८ चौका र १ छक्का प्रहार गरे ।
यस्तै विरन्दीप सिंहले ४६ रनको योगदान गरे। ९४ बलमा ४६ रन बनाएका उनले दुई चौका प्रहार गरे। खिजर हायतले २२ रन जोड्दा ओपनर महमद अमिरले १७ रन जोडे ।
नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले सर्वाधिक समान तीन-तीन विकेट लिए । १० ओभर बलिङ गरेका सोमपालले ४० रन खर्चिए। यस्तै १० ओभर बलिङ गरेका लामिछानेले एक ओभर मेडेन राख्दै ४८ रन खर्चिए ।
नेपाल अब दोस्रो खेल ओमानसँग वैशाख ८ मा कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल्ने छ। नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।
समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुनेछ । प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: