मधेश अनलाइन । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले आफु मुख्यमन्त्री भइसकेको अवस्थामा आफ्नो पकेटबाटै पैसा चोरी भएको बताउँदै प्रदेशमा सुरक्षा अवस्था दैयनीय रहेको बताएका छन् । आइतबार मिटरब्याज पीडितको समस्या समाधान गर्न बनेको आयोगको कार्यालय उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री यादवले भने, ‘म मुख्यमन्त्री भइसकेको अवस्थामा मेरै पकेटबाट पैसा चोरी भयो । यहाँ कस्तो सुरक्षाको कुरा गर्नुहुन्छ ?’ आफुबाट बाटो हुँदै हिँडिरहेको अवस्थामा ट्राफिक प्रहरीहरु मोबाइल फोनमै मस्त रहने गरेको बताउँदै उनले भने, ‘मुख्यमन्त्री सामुनेबाट हिँडेको सडक सुरक्षामा खट्ने प्रहरीले पत्तै पाउँदैन ।’ प्रदेशको सुरक्षा व्यवस्थामा सुधार ल्याउन प्रदेश सरकारले चाहेर पनि केही गर्न सक्ने अवस्था नरहेको उनको भनाइ थियो । मुख्यमन्त्री यादवले प्रदेश सरकार र नेपाल प्रहरीबीच समान्य समन्वय पनि नरहेको गुनासो गरे । संघीय सरकारले बनाएको आयोगको कार्यालय उद्घाटन गर्न आइतबार गृहमन्त्री नारायणकाजी श्रेष्ठ जनकपुर आएका थिए । देशको सुरक्षा व्यवस्था मिलाउने जिम्मेवार निकायका प्रमुख गृहमन्त्री समक्ष मधेश प्रदेश सरकारका मुख्यमन्त्रीको धेरै गुनासो थियो । ती मध्ये सुरक्षा व्यवस्थामा सुधारका लागि मधेश प्रदेशको चाहनालाई नेपाल प्रहरीले समान्य मतलब पनि नगरेको प्रति उनको चित्त दुखाइ थियो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: