सुरेश यादव, मधेश अनलाइन । धनुषाको मिथिला बिहारी नगरपालिकामा अघिल्लो मेयर अनिल यादवले खरिद गरेको एम्बुलेन्स लगायतका सवारी साधनहरु नयाँ मेयर राजेन्द्र प्रसाद यादवले संचालन नगर्दा कबारको रुपमा परिणत हुन थालेको छ ।
नगरपालिकाको कार्यालय परिसरमा दुई वर्षदेखि पार्किङ रहेको एम्बुलेन्समा नम्बर प्लेट लेखिएको छैन । भित्र सिटहरुमा प्लाष्टिक कभर लागेकै छ । एम्बुलेन्स खरिद गरेको दुई वर्ष बितिसक्यो एक दिन पनि संचालन हुन सकेको छैन ।
त्यस्तै, तीन वटा ट्याक्टर, एउटा सेफ्टी ट्यांक र एउटा टिपर खुल्ला आकाशमुनि थन्क्याइएको छ । सित, वर्षा र चर्को घामको ओत व्यवस्था समेत नगरिएको अवस्थामा राखिएका ती मेशिनरी सामानहरु लगभग बिक्री सकेको देख्न सकिन्छ । भोली कुनै व्यवस्था गरी चलाउने भएपनि नगरपालिकाको कोषबाट ती सवारी मर्मतका लागि अनाहक खर्चभार थपिने निश्चित छ ।
यसरी जनताको करबाट संकलित बजेट खर्चेर खरिद गरिएका यी सवारी साधन जीर्ण बनाउने काम किन गरिदैछ ? मधेश अनलाइनको प्रश्नमा मिथिला बिहारी नगरपालिकाका प्रमुख राजेन्द्र प्रसाद यादवले भरपर्दो जवाफ दिन सकेनन् । उनले भने, ‘अघिल्लो मेयरले खरिद गरेका यी सामग्रीहरु प्रयोगमा ल्याउन मैले अहिलेसम्म सोच्नै सकेको थिइन । अब चालक भर्ना गरेर चलाउने छौं ।’
चुनाव जितेर कार्यभार सम्हालेको समेत एक वर्ष पुग्न लाग्दा एम्बुलेन्स जस्तो जनतालाई जुनसुकै बेला आवश्यक पर्न सक्ने संवेदनशील साधन अनि नगर विकासका लागि आवश्यक उपकरणको रुपमा रहेका ट्याक्टर, टिपर र सेफ्टीट्यांकहरु चलाउन नचाहेको कि नसकेको भन्ने प्रश्नको जवाफ प्रष्ट आएन ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको