वीरेन्द्र साह, मधेश अनलाइन । प्रतिनिधिसभा सदस्य एवं पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले महोत्तरीको मटिहानी नगरपालिकालाई बालविवाह र दाइजोप्रथा मुक्त पालिका घोषण गर्ने आधार कायम गर्नेगरी नीति तथा कार्यक्रम र बजेट ल्याएर काम गर्न आग्रह गरेकी छिन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग र मटिहानी नगरपालिकाको समन्वयमा नेपाल भारत महिला मैत्री समाजले आयोजना गरेको बालविवाह तथा दाइजो प्रथाविरुद्ध सांगठनिक पहल विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री चौधरीले बालविवाह र दाइजो प्रथा अन्त्य गर्न नसके राजनीतिक कार्यमा संलग्न भइरहनुको पनि औचित्य नरहने बताइन् ।
आजको दिनमा पनि बालविवाह र दाइजो प्रथाकै बारेमा चर्चा गरिरहनु दुर्भाग्य रहेको बताउँदै उनले सभ्य र सक्षम समाज निर्माणका लागि यी कुप्रथाको अन्त्य नगरी नहुने बताइन् । पूर्व मन्त्री चौधरीले समाज र मन्त्रालयको दायित्वमा देशभरका स्थानीय तह भएपनि परिणाममुखी काम गर्ने उदेश्यले तत्काल मटिहानी नगरपालिकामा केन्द्रित भएको जानकारी दिइन् । ‘धेरै स्थानीय तहमा थोरै थोरै काम गरेर प्रभावहिन बजेट खर्चिनुभन्दा एकमात्र पालिकामा केन्द्रित हुँदा कम खर्चमा पनि परिणाम देखिनेगरी काम गर्न सकिने भएकोले मटिहानीलाई नमूना पालिका बनाउन लागेका हौं’ पूर्व मन्त्री चौधरीले भनिन्, ‘एउटा पालिका बालविवाह तथा दाइजो प्रथा मुक्त पालिकाको पहिचान पाएको सार्वजनिक भयो भने यसको प्रभाव देशभरका स्थानीय तहहरुमा पर्न सक्छ ।’
पूर्व मन्त्री चौधरीले मटिहानी नगरपालिकामा एउटा छुट्टै शाखा नै कायम गरेर बालविवाह र दाइजो प्रथा उन्मुलन गर्ने अठोटका साथ काम गर्न नगर कार्यपालिकालाई आग्रह गरिन् । कार्यक्रममा मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले बालविवाह र दाइजो प्रथाले समाजको प्रगतिमा प्रमुख बाधकको भूमिका खेलिरहेको उल्लेख गरे । उनले यस्ता परम्परागत कुरीतिविरुद्ध मटिहानी नगरपालिका गम्भिर रहेको बताउँदै नेपाल भारत महिला मैत्री समाज र संघीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगप्रति आभार प्रकट गरे ।
मटिहानी नगरसभामा प्रतिनिधित्व गर्ने सम्पूर्ण जनप्रतिनिधिहरुले आफ्नो छोराछोरीलाई कुनै पनि बहानामा बालविवाह नगर्ने प्रतिबद्धता जाहेर गरिसकेर अघि बढेको नगर प्रमुख मण्डलले बताए । अगामी दिनमा बालविवाह र दाइजो प्रथा मुक्त वडा घोषणा गर्ने पूर्वाधार तयारका लागि अगुवाइ गर्न सम्बन्धित वडा अध्यक्षहरुलाई अनुरोध गर्दै नगर प्रमुख मण्डलले सबै तह र तप्काबाट यसका लागि सक्रियता लिनेगरी नगरपालिकाले अगामी दिनमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पछिल्लो पाँच वर्षदेखि मधेशमा निरन्तर क्रियाशिल रहेको नेपाल भारत महिला मैत्री समाजको अगुवाइमा संचालित यो अभियानलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सहयोग गर्दै आइरहेको छ । रौतहट र सर्लाही जिल्लामा केन्द्रित यो अभियानलाई यस वर्ष महोत्तरीको मटिहानी नगरपालिकामा सार्थक परिणाम ल्याउने गरी अझ गम्भिरता पुर्वक लागेको मन्त्रालयकी शाखा अधिकृत रिता थपलियाले जानकारी दिइन् । थपलियाले मटिहानीबाट मधेश र सिंगो देशभर बालविवाह तथा दाइजो प्रथा विरुद्ध सशक्त सन्देश दिनेगरी काम गर्न नगर कार्यपालिका टिमसँग आग्रह गरिन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: