सुरेश यादव
वीरगंज । काठमाडौंबाट रात्री बस चढेर बिहान पौने पाँच बजे वीरगंज आइपुगें । घण्टाघर चोकमा बस रोकियो । ओर्लिए लगत्तै मेरो नजर घण्टाघरबाट उछिट्टिएर शुलभ सौचालयतिर पुग्यो । मेरो आवश्यक्ता भएर पनि होला म त्यसतर्फ गएँ । सौचालय परिसरमा पुगेपछि यतिको सफा र व्यवस्थित स्नानगृह सहितको सौचालय प्रादेशिक राजधानी सहर जनकपुरमा किन छैन ? मनमा प्रश्न उब्जियो । महानगरले उपयुक्त स्थान छनौट गरी महिला र पुरुषका लागि छुट्टाछुट्टै अत्यन्तै व्यवस्थित सौचालय निर्माण गरिदिएको छ । सौचालय निर्माण गरेर मात्रै हुँदैन, सफाइ कायम राख्नु प्रमुख चुनौति हो । यो चुनौतिलाई अवसरमा रुपान्तरण गरिदिएको छ महानगरले । स्थानीय रामजी प्रसाद जयसवाल लगायत तीन जना मिलेर एक करोड १६ लाख रुपैयाँमा सौचालय व्यवस्थापनको ठेक्का लिएका छन् । हो पनि, भन्दा सुन्दा विषय समान्य लागेपनि सार्वजनिक सौचालयको अवस्थाले कुनैपनि सहरको परिचय दिन्छ । यो मानेमा वीरगंजले सफाइउन्मुन्ख सहरको परिचय दिएको छ ।
हलुको भएर निस्किएपछि शहीद स्मारकले मेरो ध्यान तान्यो । मधेश आन्दोलनमा शहादत प्राप्त गरेका वीर शहीदहरुको स्मृति स्थलमा जयप्रकाश साह, धरमराज सिंह राजपुत, शत्रुधन पटेल, आशिष राम, सोहन साह कलवार, दिनानाथ साह गोड र दिलिप चौरसियाको शालिक क्रमिक रुपमा सजाइएको छ । आकर्षक घेराबेरा गरिएको शहीद स्मृति स्थल मन्दिर जस्तै सफा र सिंगारिएको मैले पाएँ । जसले अधिकार, पहिचान र परिवर्तनका लागि बलिदानी दिए उनको सम्मानमा महानगरले गरेको व्यवस्थापन मेरो नजरमा अर्को उत्कृष्ट कार्य हो ।
शहीद स्मारक अगाडी काठमाडौंबाट आएको अर्को बसबाट वीरगंजका लागि नयाँ चार जनाको टोली ओर्लियो । घण्टाघरको उचाइ र वरीपरीको दृश्य नियाल्दै थिए उनीहरुले । सोही टोली मध्येका एकजना स्याङ्जाबाट आएका माधव वाग्लेसँग मेरो जिज्ञासा थियो ‘तपाई पहिलो पटक वीरगंज आउनु भएको हो ?’ उनले ‘हो’ भन्दै यहाँ आउनुभन्दा अगाडी वीरगंजको वारेमा सुनेको भन्दा बिल्कुलै फरक अनुभव गरेको सुनाए । ‘हुन त यो मेरो पहिलो नजर हो । घण्टाघर वरीपरी जस्तै सफा यो सहर नहुन सक्छ तर बाहिरबाट आउने जोकोहीको पहिलो नजरले महानगरको स्वागत महसुस गर्न सक्ने रहेछ’ उनले सुनाए ।
वाग्लेसँगै गुल्मीका कृष्णप्रसाद घिमिरे सहित चार जना महिनासम्म बस्ने गरी वीरगंज आएका रहेछन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले उनीहरुलाई जिल्ला प्रशासन लगायत विभिन्न सरकारी कार्यालयमा प्रशिक्षणकै क्रममा अनुभवका लागि काम गर्न पठाएको हो । तेस्रो पटक वीरगंज आएका घिमिरेले पहिलाको तुलनामा अहिलेको वीरगंजले मुहार फेरेको बताए । एक वर्षको अन्तरालमा पछिल्लो पटक आउँदा वीरगंजले सफाइमा कल्पनाभन्दा धेरै ध्यान दिएको उनको भनाइ हो ।
सफाइकर्मीहरु यत्रतत्र काममा लिन देखियो । घण्टाघर अगाडी ड्यूटीमा भेटिएका ट्राफिक प्रहरीका हवल्दार तप्तबहादुर थापा १६ दिन अगाडी मात्र वीरगंजमा सरुवा भएर आएका हुन् । उनले महानगरको मुख्य सडकहरु सफा र व्यवस्थित रहेको बताए । भारतीय सीमासँग जोडिएको नेपालकै सबैभन्दा बढी आयात निर्यात हुने रुट भएको यो सहरमा ट्राफिक व्यवस्थापन चुनौति भएको अनुभव सुनाए । सीमा पारीको बजारमा ट्राफिक व्यवस्थापनको संस्कृति कमजोर रहेको र त्यसको प्रभाव छिमेकी बजारको दृष्टिकोणले वीरगंजमा पनि परेको उल्लेख गर्दै उनले महानगरसँग सहकार्य गरी यसतर्फ पनि राम्रो गर्न सकिने आशा व्यक्त गरे ।
घण्टाघरकै अगाडी जय लक्ष्मी मनि चेन्जर (भारु सटही) काउन्टर सञ्चालन गरिरहेका मुकेश कुमार गुप्ताले एक वर्ष अगाडी आफुहरु (वीरगंजबासी) ले गरेको निर्णय सही रहेछ भनि प्रमाणित भएको दावी गर्दै महानगरको नेतृत्वले सहर सफाइ कार्यलाई प्रमुख प्राथमिकता दिएर काम गरिरहेको सुनाए । वीरगंजको मुहार अहिलेसम्मकै इतिहासमा पहिलो पटक यति सफा देखिएको उनको जिकिर हो । ‘महानगरपालिकासँग अरु धेरै आशा पनि छैन’ मुकेशले भने, ‘सहरको सफाइ, ट्राफिक व्यवस्था र बजार व्यवस्थापन गरिदियो भने बाँकी काम आफै राम्रो हुँदै जान्छ ।’
त्यहाँबाट गहवामाई मन्दिर तर्फ लागें । बीचमै भेट भयो रामनारायण कुर्मीसँग । रामनारायण कुर्मी एक कुशल अधिवक्ता हुन् र त्यो भन्दा पहिले रेडियोकर्मी पत्रकारको रुपमा मैले उहाँलाई चिनेको हुँ । उहाँलाई वीरगंज पहिले र अहिलेको भिन्नतावारे चर्चा गरें । उहाँले महानगरको कुशल नेतृत्व भनेर महानगर प्रमुख राजेशमान सिंहको प्रशंसा गर्नुभयो ।
जनमानसमा दबंगको परिचय बनाएका राजेशमानको सादगी जीवन शैली र एक जिम्मेवार अभिभावकको स्वभावले एक वर्षमै महानगरको रुपमा परिवर्तन सम्भव भएको उल्लेख गर्दै अबका दिनमा झनै राम्रो हुने आशा प्रकट गर्नुभयो । यसका लागि वीरगंजबासी नागरिकमा चेतनाको स्तर अझ धेरै उठ्नुपर्ने आवश्यक्ता रहेको र यसका लागि सबै राजनीतिक दल तथा नागरिक समाजको तर्फबाट गम्भिर बसह हुनुपर्ने भनाइ उहाँको हो । सडक सफाइ कार्यलाई निरन्तरता दिँदै बिजुलीको पोलमा झांगिएका विभिन्न नेटवर्कका तार व्यवस्थापन र बजार क्षेत्रका प्रमुख सडकहरु फराकिलो बनाउनुपर्ने दायित्व पनि महानगरको भएको उहाँको सुझाव हो ।
महानगर प्रमुख सिंह भन्छन्, ‘असम्भव भन्ने कुरो केही हुँदैन । नेतृत्व इमान्दार भएर लागे साथ पाउँदा रहेछन् । केही कर्मचारीको पुरानो मानसिकताको कारण मैले चाहेको जस्तो गति पाउन नसकेपनि धेरैजसो कर्मचारी र अगुवा नागरिकको साथ पाइरहेको छु ।’ यद्यपि प्रतिपक्षी राजनीतिक दलका नेताहरुले राम्रोलाई राम्रो भनेर साथ दिनुपर्नेमा विरोधका लागि विरोध गर्ने संस्कृति र जनतामा देखिनुपर्ने चेतनाको कमीका कारण वीरगंजमा सकारात्मक परिवर्तनको रफ्तारले गति लिन नसकिरहेको दुखेसो उनको हो ।
मेयर राजेशमान सिंहले वीरगंज महानगरमा दुई प्रकारको सफाइको काम आफ्नो प्राथमिकतामा रहेको उल्लेख गरे । सडक र गल्ली सफाइ तथा भ्रष्टाचारको सफाइ । यी दुई वटा काममा सफल भए अन्य सहायक कामहरुले सहजै परिणाम देखाउन सक्ने विषयमा उनी विश्वस्त देखिए । यी बाहेक शिक्षा र स्वास्थ्यको सवालमा महानगरले योजना बनाएर काम गरिरहेको उल्लेख गर्दै युवा शक्तिको साथ लिएर आफ्नो बाँकी कार्यकाल अवधिभित्रै वीरगंजलाई नमूना महानगर बनाउने विश्वास व्यक्त गरे । (मधेशदृष्टि)

 

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको