सुरेश यादव
जनकपुर । मधेश आन्दोलनक्रममा भारतीय नाकाबन्दी हुँदा नेपालमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको अभाव चुलिएको थियो । नेपाल तर्फका अधिकांस पम्पहरु बन्द रहन्थ्यो । कुनै पम्पमा इन्धन आएपनि दुई दिनसम्म माग धान्न सक्दैनथ्यो । त्यस्तो अवस्थामा पुर्व–पश्चिम राजमार्गदेखि दक्षिण प्रयोग हुने धेरैजसो सवारी साधनका लागि सीमापारीको पेट्रोलियम पम्प सहारा बनिरहेको थियो ।
यस्तै अवस्थामा एक दिन यो संवाददाताले पनि सीमापारी पुगेर मोटरसाइकललाई इन्धन किन्यो । सो वापत भुक्तानी गर्ने बेलामा नेरु एक हजारलाई भारतीय मुद्रामा छ सयभन्दा बढी मूल्यांकन गर्न नसकिने बताइयो । समान्यतया नेपाली रुपैयाँ एक हजारको भारतीय छ सय २५ रुपैयाँ हुनुपर्ने हो । छ सय २० रुपैयाँसम्म दिएको भए पनि मान्न सक्थें । उसले कुनै हालतमा त्यो भन्दा बढी मूल्य दिन नसक्ने अडान लिएपछि नेपाली रुपैयाँको अवमुल्यन गर्ने भारतीय बजारमा आइन्दा कुनै किनमेल नगर्ने संकल्प लिएर फर्किएँ ।
यतिबेला समय उल्टो फर्केको छ । नेपाली बजारमा भारतीय रुपैयाँको अवमूल्यन हुन थालेको छ । नेपाली बजारमा पाँच सय भारुको नेपाली मुल्य सात सय तोकिएको छ । यो मुल्य आधिकारिक नभएपनि बजारको चलनचल्ती यस्तो देखिन्छ । नेपाल राष्ट्र बैंकको मूल्यलाई आधार मान्ने हो भने नेरु पाँच सयको भारु कम्तीमा आठ सय हुनुपर्ने हो । यतिबेला नेपाली बजारमा व्यवसायीले सकभर भारु लिन मानिरहेको छैन । लिनैपरे भारु पाँच सयलाई सात सयदेखि सात सय ५० सम्म तोकिन्छ ।
जनकपुरस्थित गुड च्वाइस ट्राभल्स एण्ड टुर्सका सञ्चालक वीरेन्द्र साहले भारु नचल्ने समस्याले व्यापार घटेको दुखेसो गरे । ‘आजकल त्यसैपनि बजार मन्दा चलिरहेको छ’ साहले मधेश दृष्टिसँग भने, ‘घुम्नकै लागि भने जनकपुरतिर आउने बढीजसो भारतीय पर्यटक हुन्छन् । उनीहरुको भारु मैले लिनै मिल्दैन । बाहिर साट्न जाँदा मूल्य नपाएर खिन्न भइरहेका हुन्छन् ।’ ट्राभल्सले भारु लिन नमिल्नुको कारण उनले पाँच सयको नोट नेपालमा अफिसियली नचल्ने अवस्था रहेको बताए ।
सीमावर्ती नेपाली जिल्लामा देखिएका केही घटनाहरुले यो बजारमा भारुको अवमूल्यन भइरहेको प्रमाणित गरिरहेको छ । ती मध्ये केही प्रतिनिधिमुलक दृश्य यहाँ उल्लेख छः
दृश्यः १
गत मंगलबार वीरगंज, घण्टाघरस्थित शुलभ सौचालयमा एक जना ग्राहकले सेवा प्राप्त गरेवापत १५ रुपैयाँ तिर्नुपर्ने थियो । उनले काउन्टरमा एक सयको भारु नोट दिए । उक्त नोटको नेपाली एक सय पचास मानेर एक सय पैतीस फिर्ता दिइयो । सेवाग्राहीले एक सय साठी हुनुपर्ने जिकिर गरेपछि नेपालमा भारु चल्दैन । कि एक सय पचास हुन्छ नभए अर्को नोट दिनु… भनेपछि दुई पक्षबीच केही समय वादविवाद चलेको थियो । आखिर सौचालयमा उनको भारु चलेन । बाहिरबाट नेरु व्यवस्था गरी ल्याएर दिनुप¥यो ।
दृश्यः २
जनकपुरको बाह्रविघा रंगभूमि मैदान नजिक एक मोबाइल पसलमा भारतीय तिर्थालुले मोबाइलको चार्जर खरिद गरेवापत भारु पाँच सय रुपैयाँको नोट दिए । पसलेले उक्त नोटको नेरु साढे छ सय मानेर फिर्ता दिए । ग्राहकको चित्त बुझेन । प्रतिवाद गरेपछि ग्राहकले लिएको सामानै फिर्ता लिएर चार्जर बेच्नु नै छैन भन्दै पठाइदिए ।
दृश्यः ३
गएको सोमबार महोत्तरीस्थित सीमावर्ती बजार भिट्ठामोडमा ग्राहक र पसलेबीच भारुकै विषयमा उत्पन्न विवाद कुटपिटसम्म पुग्यो । ग्राहकले एक बोतल पानी किनेर खायो । पसलेलाई पचास रुपैयाँको भारु नोट दियो । पसलेले भारु चल्दैन, नेपाली रुपैयाँ दिनुपर्ने जिकिर गरेपछि दुई पक्षबीचको भनाभनले विवादको रुप लियो । सोही विवाद उग्र रुप लिएपछि ग्राहक दिदीभाई नै कुटिए ।
यी घटनाक्रमहरुलाई नियाल्दा नेपाली बजारमा भारुको अवमूल्यन मात्रै होइन, अपमान नै भइरहेको देख्न सकिन्छ । कुनै बेला १० बजे खुल्ने राष्ट्र बैंकबाट भारु ख्रिद गर्न आउने ग्राहकहरु पछि परिएला भनेर बिहान पाँचै बजेदेखि बैंकको गेट अगाडी लाइन बसिरहेको दृश्य देखिन्थ्यो । अहिले राष्ट्र बैंकबाट भारु ख्रिद गर्न आउने ग्राहक लगभग भेटिदैन । राष्ट्र बैंक जनकपुर शाखा कार्यालयका निर्देशक अशोक घिमिरे भन्छन्, ‘कुनै बेला पाँचदश हजार भारु माग्न पनि ठुलाबडासँग फोन गराइन्थ्यो । अहिले भारु माग्न कोही छँदैछैन ।’
आखिर यस्तो किन भयो त ?
प्रश्नको जवाफ सम्भवतः राष्ट्र बैंकसँग पनि छैन । राष्ट्र बैंकको जनकपुर कार्यालय निर्देशक घिमिरेले यसवारे यकिन जवाफ दिइहाल्ने अवस्था नरहेको बताए । ‘हामीले पनि तपाइले भने जस्तै सुनिरहेका छौं । भारतीय सीमा क्षेत्रको बजारमा गएर बुझ्न खोज्दा नेपालमा भारु नोट पर्याप्त भएको देखिन्छ’ उनले थपे, ‘यस्तो हुनुको कारण ठ्याक्कै यही हो भन्न सकिने अवस्था भने छैन ।’
जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले नेपाली बजारमा भारुको आयात बढेको तर उक्त नोटको व्यवस्थापन सहज नहुँदा अवमूल्य भएको बताउँछन् । उनी भन्छन्, ‘पछिल्लो समयमा प्रत्यक्ष अप्रत्यक्ष आधारले नेपाली बजारमा भारुको फलो बढेको छ । नेपाली व्यवसायीले भारु पाँचको नोट लिन्छन् तर नेपालको बैंकले त्यो स्वीकार्दैन ।’ बैंकले नस्वीकारेपछि नेपाली बजारमा संकलित भारु चोर बाटो प्रयोग गरेर भारतीय बजारसम्म पठाउँदा व्यवसायीले मोल्नुपर्ने जोखिमको कारण अवमूल्यन भएको महासेठको भनाइ छ । उनले यो अवस्थालाई राष्ट्र बैंकले सम्बोधन गर्नुपर्ने आवश्यक्ता औल्याए ।
सीमावर्ती भारतीय बजारमा मदिरा प्रतिबन्धित हुनुले पनि नेपाली बजारमा भारुको फलो बढेको अनुमान व्यवसायीको छ । जनकपुरमा मात्रै दैनिक दुई सयदेखि तीन सय भारतीय सवारीसाधन आउने गरेका छन् । कोही तीर्थयात्रामा त कोही मदिरा पाउने प्रलोभनले रमाइलो गर्ने बहाना बनाएर नेपाली बजारमा आउने गरेको व्यवसायी बताउँछन् । यो अनुपातलाई मात्रै केलाउने हो भने भारतीय नागरिकले मात्रै जनकपुरमा दैनिक पाँचदेखि १० लाख भारु खर्च गरिरहेका छन् ।
यी बाहेक नेपालबाट निर्यात गर्न प्रतिबन्धित गरिएका वस्तुहरुको पैठारीले पनि अवैध रुपमा भारु आयात भइरहेको अनुमान सरोकारवाला पक्षको छ । नेपालले निर्यात प्रतिबन्ध गरेको वस्तुमा मुख्यतया मदिरा र सुन चोर बाटो हुँदै भारतीय सीमा कटाउने गरेको स्रोतहरुको भनाइ छ । उक्त वस्तु पैठारी वापत आउने भारुले पनि नेपाली बजारमा यस्तो अवस्था सिर्जना गरेको अनुमान सम्बद्ध पक्षको छ । यस वारे खुलेर बोल्न कानुनले बर्जित गरेपनि बैंकका अधिकारीहरुको समेत यस्तै अनुमान छ । घिमिरेले नेपाली बजारमा भारु थुप्रिनु अप्रत्यासित रहेको उल्लेख गर्दै मुख्य कारण पत्ता लगाउन भने केही समय पर्खिनुपर्ने बताउँछन् । (मधेशदृष्टि)

 

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको