जनकपुरधाम । धनुषा तथा महोत्तरी जिल्लाका बाढी प्रभावित रहेको चार पालिकामा लागु भएको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना अन्तर्गत बाख्राको नश्ल सुधार सम्बन्धि कार्यक्रम प्रभावकारी देखिएको छ ।
विश्व बैङ्कको आर्थिक सहयोगमा नेपाल सरकारले सञ्चालन गरेको पोषण सुरक्षा सुधार आयोजना मार्फत गरिब, विपन्न तथा मध्यम आय भएका परिवारलाई लक्षित गरेर सञ्चालन गरेको कार्यक्रमले कतिपय बाख्रा समूह पालक किसानको आर्थिक तथा सामाजिक अवस्थामा सुधार आउन थालेको छ ।
आयोजनाले बाख्राको नश्ल सुधारका लागि वोयर जातको बोका ती चार पालिकामा २–२ वटाको दरले प्रदान गरेपछि अहिले बाख्राको नश्लमा सुधार आएको मुखियापट्टी गाउँपालिकाका श्रीतराई बाख्रा समूहका अध्यक्ष रामनन्द यादवले जानकारी दिनु भयो ।
आफूसँग भएको बोयर बोकाबाट मात्र ३ सय ७५ वटा स्थानीय बाख्रामा गर्भाधान गराएर बाख्राको नश्ल सुधार गराएकाले र यसबाट ती किसानको आय आर्जनमा पनि वृद्धि भएको बताउनु भयो । अहिले मुखियापट्टी मुसहरनीयामा मात्र ३४ बाख्रा समूह रहेको यादवले जानकारी दिनु भयो ।
यसका साथै कतिपयले बाख्राको नश्ल सुधारबाट प्राप्त भएको पाठापाठी बिक्री गरेर राम्रो आय आर्जन गर्नमा पनि सफल हुनुका साथै छोरा छोरीलाई त्यसबाट पढाउनमा पनि मद्दत पुगेको मिना देवी साहले बताउनु भयो । अहिले चाडै पाठा पाठी बढेर बढी आम्दानी दिने गरेको बताउनु भयो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: