मधेश अनलाइन । सोमबार दिउँसो जनकपुरको विश्वकर्मा चोकमा एक युवकको हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका ७ स्थित जानकी नगर बस्ने २० वर्षीय प्रिन्स साहलाई उनको आफ्नै साथीले छातीमा छुरा हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो करिब पौने एक बजेको समयमा विश्वकर्मा चोक नजिक सडकमै दुई जना युवामा झगडा भयो । गाँजाको विषयमा एकअर्काबीच विवाद उत्पन्न भएको थियो । एकजनासँग रहेको गाँजा अर्कोले मागे । सहजै नपाएपछि एउटाले मुक्काले हाने । अर्कोले छुरा प्रहार गरिदियो । छुरा छातीको बायाँ भागमा मुटुलाई छुनेगरी रोपिएको रहेछ । छुराले हान्ने बित्तिकै दौडेर कलवार कुट्टीतिर भाग्दै गर्दा प्रिन्स बाटोमै ढल्यो । मुटुमा लागेकोले धेरै पीडा थाम्न नसकेर ढलेका प्रिन्सलाई केही बेरपछि प्रहरीले उद्धारगरी जनकपुरस्थित प्रादेशिक अस्पताल पुर्यायो । तर, त्यहाँ पुग्ने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरिदियो ।
घटनापछि प्रहरीले छुरा हान्ने युवालाई पक्राउ गरेको छ । घटनाको एक घण्टाभित्रै अपराधीलाई पक्राउ गर्न सफल भएको उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले लागुऔषध सेवनकर्ताहरु बीचको झगडाले प्रिन्सको अनाहकमा ज्यान गएको बताए । मृतक र अपराधी दुवै लागुऔषध प्रयोगकर्ता रहेको बताउँदै उनले घटनाको विस्तृत अनुसन्धान जारी रहेको मधेशअनलाइनलाई जानकारी दिए ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको