सर्लाही । मुस्लिम धर्मावलम्बीको एक महिना सम्म चल्ने पर्व रमदान बुधवार सम्पन्न भएको छ । ईश्वरपुर नगरपालिका वडा नं. ६मा रहेको मस्जिदमा रमदान पर्वको अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुुख मनोज कुमार आचार्य मुस्लिम धर्मावलम्बीहरु सँगै बसेर साँझको भोजन गरी रमदान पर्वको शुुभकामना आदान प्रदान गर्नुभएको छ । अघिल्लो वर्षहरुमा २९ दिनको रामदान अर्थात रोजा यस वर्ष भने ३० दिन सम्म मनाइएको वडा नं. ६का वडा अध्यक्ष रहमत अंसारीले जानकारी दिनुुभयो । हिजरी संवतको रमदान (रमजान) महिना समापन भइरहँदा देशका अन्य भागका साथै सर्लाहीका मुस्लिम बसोबास बाहुल्य भएका बस्तीमा ‘ईद’को चहलपहल समेत सुरु भएको छ । रमदानभरि रोजा (व्रत, उपवास) बसेका मुस्लिम धर्मावलम्बी शव्वाल महिनाको पहिलो तारिखमै मनाइने ईद–उल–फित्र (बोलीचालीमा ईद) को तयारीमा लागेपछि मुस्लिम बाहुल्य बस्तीमा रौनक बढेको हो । हिजरी संवतको पात्रोअनुसार रमदान सकिएर बिहीबार शव्वाल महिना सुरु हुँदैछ । शव्वालको पहिलो दिन ईद मनाइन्छ । इस्लाम (मुस्लिम) परम्पराको मुख्य पर्व ईद मनाउन टाढाटाढा रहेका परिवारजन घर आएका छन् । बिहिवार मनाइने ईदका लागि सर्दाम जुटाउन लागिएको वडा अध्यक्ष अंसारी बताउनुहुन्छ । हिजरी संवतको पात्रोले बुधवार रमदान सकिने उल्लेख गरे पनि इस्लाम परम्परामा सम्बन्धित क्षेत्रका अधिकारप्राप्त इमाम (धर्मगुरु) ले भरे साँझ द्वितीयाको चन्द्रमा देखिएको घोषणा गरेपछिमात्र बिहिवार ईद मनाउन बाटो खुल्ने चन्द्रनगर गाउँपालिका वडा नं. १ बस्ने अलिहुसेन अन्सारीले बताउनुभयो । इस्लाम परम्परामा चन्द्रमास (इस्लामिक पात्रोअनुसार) तालिकाअनुसार पात्रो बन्ने चलन छ । यसैले हिजरी संवत्का महिना सामान्यतया चन्द्रमा देखिने शुक्लपक्षको द्वितीया तिथिबाट सुरु हुन्छन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: