काठमाण्डौ वैशाख ११ । नख्खु कारागार नयाँ ब्लकमा कैदीबन्दीहरु उपर चरम शोषण, दमन र भ्रष्टाचार हुने गरेको कैदी बन्दीहरुले बताएका छन् ।
कारागारभित्र खाना खाने देखि सुत्ने ठाउँ, उपचार गराउने, नुहाउने, भेटघाट कक्ष, टेलिफोन समेतमा चरम भ्रष्टाचार हुने गरेको भन्दै विस्तृत छानविन गरी कार्वाही गर्न कैन्दी बन्दीहरुले कारागार विभाग डिल्लीबजार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छुट्टाछुट्टै उजुरी दिएका हुन् ।
कारागार विभागमा २०८० चैत २६ गते र अख्तियारमा २०८१ वैशाख १० गते दिएको उजुरीमा उनीहरुले कारागार प्रशासनका कर्मचारीहरुकै मिलोमतोमा चौकीदार र नाईकेहरुले कैदी बन्दीहरुसँग चरम यातना दिँदै विभिन्न नाममा असुली धन्दा चलाएर अकुत सम्पत्ति आर्जन गरिरहेको उल्लेख गरेका छन् । उनीहरुले संयुक्त रुपमा उजुरी दर्ता गर्दै नयाँ ब्लकका चौकीदार राजु थापा र नाईके कोर्ते गुरुङमाथि विस्तृत छानविवन गरि कडा कार्वाही गर्न जोडदार माग गरेका हुन् ।
एक पीडित कैदीले भने, ‘कारागारभित्र राम्रो सुत्ने व्यवस्था गरिदिने भन्दै चौकीदार र नाईकेहरुले गुण्डाराज पाराले पैसा माग्छन्, पैसा नदिए चरम यातना दिने र विरामी सुत्ने ठाउँमा सुताउने गर्छन् ।’ उनले नयाँ ब्लकको चौकीदार राजु थापा र नाईके कोर्ते गुरुङ्गले कैदीबन्दीहरुलाई चरम शोषण, दमन र उनीहरुसँग मोटो पैसा असुली भष्टाचार गरिरहेको बताए ।
उनीहरुले चौकीदार राजु थापाको नख्नु जेल नजिकै भैंसेपाटी स्थित रेष्टुरेण्टमा आर्थिक लेनदेन हुने गरेको दाबी गरेका छन् । ‘उनीहरुले कारागारमा मोलमोलाई गर्छन् त्यही रेष्टुरेण्टमा पैसा लिन्छन् कैदीहरुको आफन्त मार्फत ।’, ती कैदीले भने ।
कैदीबन्दीहरुले दिएको उजुरीमा कानून व्यवसायी मनिका खड्काको पनि नाम जोडेका छन् । चौकीदार राजु थापाले विचौलिया कानून व्यवसायी मनिका खड्का मार्फत मुद्धा मिलाई दिने भन्दै कैदीबन्दीहरुसँग एक देखि पाँच लाख सम्म लिने गरेको उल्लेख गरेका छन् । उनीहरुले कारागार भित्र कानून विपरीत जुवा, तास खेलाईने गरिएको पनि बताए । एक कैदीले भने, ‘यहाँ भित्र स्नुकर, जुवा, तास, क्यारिमबोर्ड लेखाईन्छ । नाईकेहरुले बनाएको क्वाईन मनीका आधारमा यहाँ सट्टेवाजी खेलाईन्छ अनि बाहिर चौकीदार राजु थापाको रेष्टुरेण्टमा सो क्वाईन भजाईन्छ ।’
त्यस्तै चौकीदार राजु थापा र नाईके कोर्ते गुरुङ्गले कारागारभित्र टेलिफोनमा समेत चरम लुट मच्चाएको पीडित कैदीबन्दीहरुले बताएका छन् । उनीहरुका अनुसार कारागारभित्र एक मिनेट फोन गरेको एनटीसिमा ५ रुपैयाँ र एनसेलमा ८ रुपैयाँ सम्म तिर्नु पर्छ । त्यस्तै त्यहाँ कालो चियाको ३० रुपैयाँ र दुध चियाको प्रतिकप ५० रुपैया तिर्नु पर्ने अवस्था रहेको छ । त्यस्तै कैदीबन्दीहरु विरामी हुँदा अस्पताल जान सोर्सफोर्स लगाउनु पर्ने, सोर्सफोर्स नभए हैसियत हेरी चौकीदार र नाईकेलाई रकम बुझाउनु पर्ने बाध्यता कैदीबन्दीहरुमा रहेको कैदीबन्दीहरुले बताएका छन् । त्यसैगरी चौकीदार थापाले कैदीबन्दीले काम गर्ने पोते गलैंचा कारखानाबाट ३५ प्रतिशत कमिसन लिएर कैदीबन्दी मजदुरहरुको श्रम शोषण समेत गर्ने गरेका छन् ।
यसरी जेलभित्र सामान्य मानव अधिकारको समेत प्रयोग नगरी कैदीबन्दीहरु उपर शोषण दमन गरी चरम भ्रष्टाचार गर्ने चौकीदार राजु थापा र नाईके कोर्ते गुरुङ्ग उपर विस्तृत अनुसन्धान गरी कार्वाही गर्न कैदीबन्दीहरुले माग गरेका छन् । पीडित कैदीबन्दीहरुले आफूहरुको नाम गोप्य राखीदिन समेत अनुरोध गरेका छन् ।
कैदीबन्दीहरुले कारागार प्रशासनकै मिलोमतोमा लुट धन्दा भइरहेको बताए पनि कारागार प्रशासनले भने आफूहरुलाई केही जानकारी नभएको नाटक गरिरहेका छन् । कारागारका जेल मित्रलाल शर्माले यस विषयमा आफूलाई केही थाहा नभएको बताए । ‘म यहाँ आएको एक महिना जति भयो । सबैकुरो ठिकै चलिरहेको छ । तपाईले भन्नु भएजस्तो त्यस्तो केही पनि छैन ।’ जेलर शर्माले भने, ‘तर तपाई मार्फत आएका गुनासाहरु उपर हामी सचेत हुन्छौं । ’
उता, कारागार विभाग डिल्लीबजारका प्रमुख डिजी काशी दाहालले यस विषयको उजुरी आफूहरुलाई प्राप्त नभएको बताए । जबकी पीडित कैदीहरुले चौकीदार थापा र नाईके गुरुङ्गको दादागिरी उपर छानविन गर्न भन्दै गएको चैत्र महिनामा नै उजुरी दर्ता गराएका छन् । प्रमुख डिजी दाहाल भन्छन्,‘उजुरी प्राप्त भएको छैन । प्राप्त भएपछि अनुसन्धान अघि बढाउँछौं ।’
त्यस्तै कारागार विभागका निर्देशक कमल पाण्डेले आफु विरामी भएर बसेकोले केही बुझ्न नपाएको बताए । उनले आफू कार्यालय गएपछि बुझेर अनुसन्धान अघि बढाईने बताए । निर्देशक पाण्डे जिल्ला प्रशासन कार्यालय काठमाण्डौं हुँदा देखि नै राम्रो काम गर्नेमा पर्छन् ।
कारागार प्रशासनले यस्ता विषयहरुमा ध्यान नदिँदा कारागारभित्र झडपका घटनाहरु हुँदै आएको छ । यसअघि पनि २०७९ को फाल्गुनमा नख्खु कारागार कै नयाँ ब्लकको चौकिदार र नाइकेहरुले यस्तै जेलभित्र शोषण दमन गर्दा कैदीहरु र नाइकेहरुको बिचमा ठुलो झडप भएको थियोे । झडपमा परि थुप्रै कैदीहरु घाइते भएका थिए ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको