वैशाख १६ । राष्ट्रिय हात्तीपाईले रोग निवारण अभियान अन्तर्गत सर्लाहीको हरिपुर नगरपालिकाले हात्तीपाईले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रम २०८१ शुरु गरेको छ । वैशाख १६ गते सुरु भई २९ गतेसम्म जारी रहने अभियानको हरिपुरमा महावीर जनता माविबाट औपचारीक रुपमै सुभारम्भ गरिएको नगर स्वास्थ्य शाखाका स्वास्थ्य उप–संयोजक राम नरेश ठाकुरले बताउनुभयो । नगर प्रमुख गोपाल पंजियार आफैले सर्वप्रथम हात्तीपाईले रोग विरुद्धको तीनथरीको औषधी सेवन गरेर आम औषधी सेवन अभियान शुभारम्भ भएको घोषणा गर्नु भएको थियो । उहाँले औषधी पूर्ण रुपमा सुरक्षित र प्रभावकारी भएको र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा खुवाईने भएकोले ढुक्कसँग सेवन गर्न नगरवासीलाई आग्रह गर्नुभयो । त्यस्तै नगर उप–प्रमुख निलमदेवी राय यादवले पनि औषधी सेवन गर्नुभयो । उहाँले पनि ढुक्कसँग औषधी सेवन गरी हात्तीपाईले रोग लाग्नबाट बच्न आग्रह गर्नुभयो । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतोले औषधीले कुनै साईड ईफेक्ट नगर्ने भएकोले हात्ती पाईले रोग निवारण गर्न सबैले औषधी सेवन गर्नै पर्ने बताउनुभयो । नगर स्वास्थ्य शाखाका उप–संयोजक रामनरेश ठाकुरले अभियान सम्पन्न गर्न ६५ जना स्वास्थ्यकर्मी, ५९ जना महिला स्वास्थ्य स्वयमसेविकाहरु परिचालन गरेको बताउनुभयो । उहाँले ढुक्कसँग औषधी खान सबैलाई आग्रह गर्नुहुँदै कुनै असर देखापरे तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गर्नुभयो । त्यस्तै महावीर जनता माविका प्रधानाध्यापक अमृत बहादुर मोक्तानले समेत हात्तीपाईले रोग विरुद्धको औषधी सेवन गर्नुहुँदै सबैलाई सेवन गर्न आग्रह गर्नुभयो । हात्तीपाईले रोग मानिसलाई शारीरिक रुपमा असक्त, अपाङ्ग र कुरुप बनाउने एक प्रकारको सरुवा रोग हो । यो रोग एक प्रकारको धागो आकारको जुका जस्तै परिजीवीले गराउँदछ । यो रोग संक्रमित लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने गर्दछ । परिजीवि शरीरमा प्रवेश गरेको केही वर्षपछि मात्रै रोगका असर देखिन्छ । र लक्षण देखिई सकेपछि यो रोग निको हुँदैन ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: