सुरेश यादव, जनकपुर
कान्तिपुर पब्लिकेशनका संचालक कैलाश सिरोहियालाई पक्राउ गरेको विरोधमा जनकपुरमा विरोध सुरु भएको छ । अपराध विरुद्ध समाचारको माध्यमले निरन्तर खबरदारी गरेकै कारण सिरोहियालाई पक्राउ गरिएको भन्दै उनलाई तत्काल रिहाइ नगरिए कडा आन्दोलन गर्ने चेतावनी चौतर्फी आउन थालेको हो ।
जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् पूर्व मेयर बजरंग साहले सिरोहियालाई पक्राउ गर्नु राजनीतिक अपराध र राज्यको दुर्भाग्यपूर्ण कदम भएको भन्दै कडा शब्दमा विरोध जनाएका छन् । उनी भन्छन्, कैलाश सिरोहिया नेपालका वंशज नागरिक हुन् । उनका पिताजी घासीराम सिरोहिया आजभन्दा सात दशक अघि जतिबेला कैलाश सिरोहियाको जन्म पनि भएको थिएन त्यसबेला अर्थात् जनकपुर उद्योग वाणिज्य संघका संस्थापक महामन्त्री (महासचिव) थिए ।
कान्तिपुर जस्तो मुलुककै प्रतिष्ठित सञ्चारगृहका सञ्चालकलाई उक्त सञ्चारगृह स्थापना हुँदा जन्म पनि नभएका व्यक्तिले नक्कली नागरिकता बोकेको भनेर नक्कली आरोपको भरमा पक्राउ गर्नु यो राज्यको लागि समेत दुर्भाग्यपुर्ण अवस्था रहेको साहको भनाई छ । उनले भने, यो देश कसको हो र कसरी सञ्चालन हुँदैछ भन्ने प्रश्न मनमा उब्जिन थाल्यो । राज्यको जिम्मेवारी पदमा वहाल व्यक्तिले आफ्नो अपराध लुकाउन सञ्चार उद्यमीलाई पक्राउ गर्ने घृणित कार्य तत्काल नसच्याए जनकपुरले विद्रोह गर्न सक्ने उनले चेतावनी दिए ।
जनकपुर टुडे सञ्चार समूहका अध्यक्ष वृजकुमार यादवले पनि सिरोहियाको गिरफ्तारलाई घोर विरोध गरेका छन् । कैलाश सिरोहियालाई पक्राउ गरेर गृहमन्त्री र यो राज्यले घोर निन्दनीय कार्य गरेको उल्लेख गर्दै उनले यस विरुद्ध आम नागरिक आन्दोलित हुनुपर्ने बताए ।
मधेशदृष्टि दैनिक पत्रिकाका सञ्चालक ध्रुव साहले पनि सिरोहिया उपर लगाइएको आरोप र पक्राउ गर्ने शैलीको कडा विरोध गरेका छन् । राज्यमा हुने अपराधको विरोधमा आवाज उठाउनेलाई नियन्त्रण गर्नु भनेको यो मुलुकको बेइज्जति भएको उनी बताउँछन् ।
यसैबीच सिरोहियालाई तत्काल रिहाइको माग गर्दै सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने राज्यको दुष्प्रयास विरुद्ध बुधबार बिहान ९ बजे जनकपुर उद्योग वाणिज्य संघबाट विरोध जुलुस निस्किने भएको छ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको