सुरेश यादव, जनकपुर ।
जेठ ९ साँझ ९ बजे म जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुगेको थिएँ । मेरी सासुआमा लिभर क्यान्सरको बिरामी हुन् । तीन वर्षदेखि उनको उपचार भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भइरहेको थियो । बिरामी स्वयम् र परिवारजनलाई रोगवारे जानकारी हुँदासम्म अप्रेशन हुनै नसक्ने स्टेजमा पुगिसकेको रहेछ । केमो थेरापी लगायत अन्य प्रविधिबाट उपचार गर्दागर्दै पनि लिभर कामै नलाग्नेगरी खराब भइसकेको अवस्थामा जन्डिस भन्ने अर्को रोगले ग्रस्त हुन पुगे । अब झन् बिरामीलाई बचाउन सक्ने थोरै आधार पनि नदेखेपछि चिकित्सकले घरमै लगेर जन्डिस निको हुने औषधी खुवाउन र केही सुधार भएपछि पुनः अस्पताल ल्याउन भनेर घर पठाइदिएको थियो । त्यसको दुई दिनपछि जेठ ९ गते करिब साढे १२ बजेको समयमा अचानक पेट फुलेको समस्या देखियो । मेरो सालोले फोनगरी सोधे, कहाँ जाउँ ? के गरौँ ? मैले तत्काल प्रादेशिक अस्पतालको इमेरजेन्सीमा लगेर भर्ना गर्न सुझाएँ । त्यसको केही वेरपछि म पनि अस्पताल पुगेँ । चिकित्सकका सहयोगी स्वास्थ्यकर्मीहरुले स्लाइन लगाउँदै थिए । म एक छिन बसेर अन्य कामका लागि बाहिर निस्केँ । साँझ करिब ९ बजे पुनः अस्पताल पुगेँ मेरा एक जना साथी सन्तोष यादवलाई सँगै लिएर । अस्पतालमा पुग्ने बित्तिकै कुरुवा बसेकी मेरी श्रीमतिले लिभरले काम नगर्ने भएपछि शरीरको विकार निस्किन पेटमा सेट गरिएको पाइप मिसप्लेस भएको र त्यसलाई यहाँ मिलाउन नसकिने भएकोले भरतपुर क्यान्सर अस्पताल नै लग्नुपर्ने बताइन् । मलाई विश्वास लागेन यति जाबो काम पनि जनकपुरमा सम्भव नहोला भनेर । मैले हो र ? यति काम पनि यो अस्पतालमा सम्भव छैन ? भनेर अस्पतालका उपनिर्देशक डा.केडी दासलाई सोधेँ । उनले यसवारेमा त्यहाँस्थित उपचारमा रहेका स्वास्थ्यकर्मी र डाक्टरसँग सोध्नुपर्ने बताए । मैले बुझ्नुहोस् र छ भने तत्काल काम होस् नभए बाहिर लग्छौं भनेर फोन संवाद टुंग्याएँ ।
Oplus_131072
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: