जेठ 31 प्रहरीले स्रोत नखुलेको रकमसहित ४ जना चिनियाँ नागरिकहरुलाई भक्तपुरको जगातीबाट पक्राउ ग¥यो । भक्तपुरमा चेकजाँचका क्रममा उनीहरुलाई स्रोत नखुलेको ६९ लाख ५ हजार रुपैयाँ थियो । त्यस्तै जेठ २० गते पनि सुनसरीको हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर नजिकबाट स्रोत नखुलेको एक करोड एक लाखसहित प्रहरीले एकजनालाई पक्राउ गर्‍यो ।
विगत केही वर्ष यताको तथ्यांक हेर्ने हो भने स्रोत नखुलेको रकमसहित पक्राउ पर्नेको संख्या निरन्तर बढिरहेको छ । स्रोत नखुलेको रकम सबैभन्दा बढी मधेश प्रदेशबाट भेटिएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को वैशाखसम्म देशभरीबाट प्रहरीले पाँच करोड ८७ लाख आठ हजार नौ सय ८० रुपैयाँसहित ५२ जनालाई पक्राउ गरेको छ । स्रोत नखुलेको रकमसहित पक्राउ पर्नेमा सबै भन्दा धेरै मधेश प्रदेशबाट ३० जना छन् । उनीहरुको साथबाट प्रहरीले तीन करोड भन्दा धेरै रकम बरामद गरेको छ । यस्तै लुम्बिनी प्रदेशबाट ९१ लाख ५८ हजारसहित ५ जना, गण्डकी प्रहरी प्रदेशबाट ६२ लाख ८१ हजार बरामद गरेपनि कुनै पनि व्यक्ति भने पक्राउ परेनन् । काठमाडौ उपत्यका प्रहरी कार्यालयले ६१ लाख ९९ हजारसहित ७ जना, बागमती प्रहरी कार्यलयले ४० लाख ५९ हजारसहित ५ जना, कोशी प्रहरी कार्यलयले २९ लाख १२ हजारसहित ४ जना र सुदूरपश्चिम प्रहरी कार्यालयले ८० हजारसहित १ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० मा सात करोड ११ लाख ५५ हजार ९सय तीन रुपैयाँसहित देशभरबाट ८४ जना पक्राउ परेका थिए । यस्तै आर्थिक वर्ष २०७८/७९ मा १४ करोड सात लाख एक हजार दुई सय ८६ सहित ७४ जना पक्राउ परेको थिए ।
आर्थिक वर्ष २०७७/७८ मा पनि सात करोड २९ लाख २७ हजार आठ सय ५० रुपैयाँसहित ४७ पक्राउ परेका थिए । २०७६/७७ मा ७ जनालाई पक्राउ गरी उनीहरुको साथबाट ८९ लाख पाँच सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै आर्थिक वर्ष २०७५/७६ मा एक करोड ५९ लाख १० हजार पाँच सय ५९ रुपैयाँसहित १३ जना पक्राउ परेका थिए । यसरी २०७५ यता प्रहरीले स्रोत नखुलेको ३६ करोड ८३ लाख ६५ हजार ४ सय ७८ रकम बरामद गरेको छ भने २७७ जनालाई पक्राउ गरेको छ । जसमा सबैभन्दा बढी मधेश प्रदेशबाट मात्रै एक सय ३३ जना पक्राउ परेका छन् ।
सुन र हुन्डीमा प्रयोग
यसरी स्रोत नखुलेको रकम विशेषगरी सुन किन्न र हुन्डी कारोबारको लागि प्रयोग हुने गरेको देखिन्छ । तर, स्रोत नखुलेको रकम पक्राउ पर्दा रकम ओसारपसार गर्ने भरियाको रुपमा प्रयोग भएको व्यक्ति मात्र पक्राउ पर्ने गरेका छन । पक्राउ परेकाहरुलाई समेत पैसाको मालिक को हो भन्ने पत्तै नहुनेगरी सञ्जाल बनाइएको हुन्छ ।
प्रहरीले सुराकीको आधारमा केही करोड स्रोत नखुलेको रकम भेट्टाएपनि अर्बौंको कारोबार हुने अनुमान गरिन्छ । तथ्यांकअनुसार स्रोत नखुलेको रकम भारतसँग नाका जोडिएको क्षेत्रमा बढी कारोबार हुने देखिएको प्रहरीले जनाएको छ ।
तर, पछिल्लो समय काठमाडौं उपत्यकाको नजिकका जिल्लाहरुबाट समेत स्रोत नखुलेको रकम ठूलो मात्रामा भेटिन थालेको प्रहरीको तथ्यांक छ । यसरी प्रहरीले बरामद गर्ने स्रोत नखुलेको करोडौ रुपैयाँ भने आन्तरिक राजस्व कार्यालयमार्फत् नेपाल सरकारको धरौटी खातामा जम्मा हुने गरेको छ ।स्राेत:-
मध्यान्ह दैनिक

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको