कुशेश्वर उपाध्याय जनकपुरधाम । वर्षाको पानी घरघरमा पसेपछि जनकपुर वासीहरु हैरानी खप्न बाध्य छन् । देशभर मनसुनी वायुको प्रभावको कारण वर्षा भइरहेको छ । मंगलवार यो महिनामै सबैभन्दा बढी वर्षा जनकपुरधाम लगायत देशैभरी भएको बताइन्छ । वर्षाको कारण जनकपुरधाममा धेरैजसो घरमा पानी पसेको छ । अहिले नयाँनयाँ घरहरु थपिने क्रममा बाटोका साथै पानी निकासको लागि बनाइएका नालासमेत अतिक्रमणको चपेटमा परेपछि पनि जमा भएर घरहरुमा पसेको देखिन्छ । त्यसरी जाम हुने पानीको कारण अहिले कयौ जनकपुरका घरमा पानी रसाइरहेको अवस्था छ । त्यो पानी वेलावेलामा फालीरहनु पर्ने बाध्यता छ । जनकपुरधाममा पानीको निकास भरपर्दो नभएकै कारण बढी वर्षाहुँदा पानी बाटो हुँदै घरघरमा छिर्ने गर्दछ र सर्वसाधारणले दुख पाउनु परीरहेको छ । अर्कोतिर अहिले वषाको समयमा जनकपुरधाम उपमहानगरपालिकाले बढी कमिसन पाउने दाउमा बाटो बनाउने नाममा गिट्टीबालुवा र निर्माण सामग्री झारेको कारण पनि नाला जाम हुनुको साथै पानी निकासमा समस्या भएको हो । अहिलेपनि देशका धेरै ठाउँमा ठूलो पानी परिरहेको हो । बाँके, बर्दिया, दाङ, अर्घाखाँची, प्यूठान, कपिलवस्तु, स्याङ्जा, पाल्पा, गोरखा, ललितपुर, सिन्धुपाल्चोक लगायतका जिल्लामा ठूलो पानी परिरहेको छ । मौसम विज्ञका अनुसार वर्षा विहिीवारसम्म बढी हुने सम्भावना छ । मंगलवार कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँहरूमा, लुम्बिनी प्रदेशका थोरै ठाउँहरूमा तथा बाँकी प्रदेशका एक÷दुई ठाउँमा मेघगर्जन÷ चट्याङसहित हल्कादेखि भारी वर्षा हुने सम्भावना छ । मंगलवारदेखि केही दिन सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षा हुने सम्भावना रहेको छ । मनसुनी प्रणाली बिहीवारसम्म नै सकृय हुने र मौसममा सुधार नआउने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । मनसुनी वायु सुदूरपश्चिमको कैलाली–कञ्चनपुर हुँदै पहाडतिर उक्लिँदै गएको मौसमविद्ले बताएका छन् । अहिले सिन्धुपाल्चोकको मेलम्ची नदी सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले तल्लो नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अनपाउन बाढी सूचना केन्द्रले आग्रह गरेको छ । वर्षाका कारण मधेश प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्रसहित जनकपुरधामका विभिन्न ठाउँ डुबानमा परेका छन् । आउँदो तीन दिनसम्म नै कर्णाली, महाकाली, कोशी, नारायणी, बागमती र यसका प्रमुख सहायक नदीहरू तथा कमला, कन्काई, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई नदीको जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका कृयाकलापमा उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: