मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आजको काम आजै गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । मधेशमा कामकाजमा हेलचक्रयाई भइरहेको जनगुनासो बढ्दै जादा मुख्यमन्त्री सिंहले कर्मचारीहरुलाई आफ्नो जिम्मेवारी निर्वाह गर्नको लागि निर्देशन दिएका हुन् । मंगलबार जनकपुरधाममा मधेश प्रदेश सरकारको पेफा मुल्यांकन सम्बन्धी प्रारम्भिक कार्यशाला २०८१ लाई सम्बोधन गर्दैै मुख्यमन्त्री सिंहले कर्मचारीहरुलाई कार्य सम्पादनमा ध्यान दिन जरुरी रहेको बताए । मधेशको आउटपुट काठमाण्डौले हेरिरहेको छ, उनले भने–सरकारले नीति ल्याउने हो । काम भने कर्मचारीले नै गर्ने हो । अर्थ मन्त्रालयले आज मुजेलियामा आयोजना गरेको कार्यशालामा उनले सरकारलाई सफल बनाउने जिम्मा कर्मचारीमा निर्भर रहेकाले यसतर्फ दत्तचित भइ अघि बढ्नको लागि सचिवहरुलाई समेत निर्देशन दिए । मधेश प्रदेशमा रहेका १२ वटै मन्त्रालयको वेभसाइट अपडेट छैन् । कर्मचारीहरुको सम्पर्क नम्बर लुकाइएको छ । मन्त्रालयका सचिव र सूचना अधिकारीले यसतर्फ गंभीर भएर अघि बढनुपर्छ, मुख्यमन्त्री सिंहले भने–आफ्नो दायित्व पूरा गर्नुस् । अर्थमन्त्री सुनिल कुमार यादवको अध्यक्षतामा भएको कार्यशालामा मुख्यमन्त्री सिंहले कार्य सम्पादनमा ढिलासुस्ती नगर्न सचिवहरुलाई निर्देशन दिएका थिए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: