काठमाडौँ, साउन २३ ।
राजेन्द्र महतोले नेतृत्व गरेको राष्ट्रिय मुक्ति क्रान्तिमा विभिन्न पार्टी परित्याग गरि दर्जनौँ नेताहरुले प्रवेश गरेका छन् । नेपाली काँग्रेस, मोहन वैद्य किरणले नेतृत्व गरेको क्रान्तिकारी कम्यूनिष्ट पार्टी लगायत परित्याग गरि दर्जनौँ नेताहरुले बुधवार राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गरेका हुन् ।
प्रवेश गर्नेहरुमा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि अछामका शेर बहादुर शाह, नेकपाका केन्द्रिय आइटी विभाग प्रमुख सिन्धुपाल्चोकका चुडामणी श्रेष्ठ, क्रान्तिकारी कम्यूनिष्ट पार्टीका संचार विभाग प्रमुख कर्णाली प्रदेश जाजरकोटका राम बहादुर बुढा मगर तथा केन्द्रिय सदस्य जुम्लाकी लक्ष्मी चौलागाइ बुढा मगर लगायत दर्जनौँ नेताहरुलाई राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले फुलमाला लगाई तथा खादा ओढाइ पार्टी प्रवेश गराए । प्रवेश गर्दै उनीहरुले अब मुलुकको विकल्प राष्ट्रिय मुक्ति क्रान्ति मात्रै रहेको बताउदै देश विकास तथा निकास दिन आफूहरुले राष्ट्रिय मुक्ति क्रान्ति रोजेको बताए ।
काँग्रेस तथा पुराना कम्यूनिष्ट पार्टीहरु परिवारवाद तथा राष्ट्रलाई निकास दिन नसक्ने दाबी गर्दै उनीहरुले अब आफूहले बहुलराष्ट्रिय राज्यका लागि यसै राष्ट्रिय मुक्ति क्रान्ति मार्फत संघर्ष गर्ने बताए ।
नवप्रवेशी नेताहरुलाई स्वागत गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका संयोजक महतोले बहुलराष्ट्रिय राज्यका लागि आफूहरुको अभियान अगाडी बढिसकेको र मुलुकभर यसको प्रभाव बढिरहेको बताए । उनले आफूहरुले संगठन विस्तार तथा प्रशिक्षण कार्यक्रम जारी राखेको र नेपाली जनताले समेत अब मुलुकको निकास तथा विकास राष्ट्रिय मुक्ति क्रान्तिबाट मात्रै सम्भव रहेको बुझिसकेको बताए ।
राष्ट्रिय मुक्ति क्रान्ति पश्चिम कमाण्डका नेता जुनतारा मगरको नेतृत्व भएको प्रवेश कार्यक्रममा आर्थिक विभाग प्रमुख कमला गुरुङ्ग, नेवा राष्ट्रिय परिषद्का संयोजक सुमन सायमी, स्वनिग विशेष ब्यूरो संयोजक रविन्द्र श्रेष्ठ, राष्ट्रिय मुक्ति क्रान्तिका नेता कौशल सिंह, सन्तोष मेहता, रामकिशोर सिंह, कृष्णा थापा, युथ इन्डिजिनियस लिगका प्रमुख सनम लिम्बुलगायतका नेताहरुको उपस्थिति थियो ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको