मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष मधेश प्रदेशका प्रदेश लोकसेवा आयोगले आर्थिक वर्ष २०८०–२०८१ मा सम्पादन भएको कार्य सहितको विवरण समेटिएको पाँचौँ वार्षिक प्रतिवेदन पेश गरेको छ ।


मंगलबार जनकपुरधामको मधेस भवनमा मधेश प्रदेश लोक सेवा आयोगका अध्यक्ष शिवराम यादवले प्रदेश प्रमुखको सचिवालयमा आयोजित विशेष कार्यक्रमबीच वार्षिक प्रतिवेदन पेश गरे।
प्रतिवेदन ग्रहण गर्दै मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले कर्मचारीको छनौट, बढुवा सहितको कार्यमा प्रदेश लोकसेवा आयोगले खेलेको भूमिकाको प्रशंसा गर्दै लोकसेवा आयोगले काम गर्दा सामना गर्नुपरेको कठिनाइका विषयमा सरकारको ध्यानाकर्षण गर्ने बताए ।
स्थानीय तहको कर्मचारी सम्बन्धि ऐन बने पनि समयमा नियमावली नबनेका कारणले स्थानीय तहमा कर्मचारीको पदपूर्तिसम्बन्धी काम प्रदेश लोकसेवा आयोगले अगाडी बढ्न नसकेकाले नियमावली चाँडो ल्याउन प्रतिवेदनमा उल्लेख छ।
मधेस प्रदेश लोकसेवा आयोगले आह्वान गरेको विज्ञापनमा आवेदन दिनेको संख्या ५० प्रतिशतभन्दा बढीले घटेको छ।
आयोगद्वारा आह्वान गरिएको विज्ञापनमा ५०.७१ प्रतिशत कम आवेदन परेको हो।
आयोगले गत आवमा कुल १८९ पदमध्ये खुला तथा समावेशीतर्फको १०६ र अन्तरसेवातर्फको ११ पदका लागि विज्ञापन प्रकाशन गरेको थियो भने बढुवातर्फ ७२ पदको लागि विज्ञापन गरेको थियो।
आयोगले आह्वान गरेको विज्ञापनमा प्रदेश निजामती सेवातर्फ महिला २ हजार ४०१ र पुरुष ७ हजार ९३२ गरी १० हजार ३३३ जनाले आवेदन पेश गरेका थिए।
आयोगका अनुसार आयोगले आह्वान गरेको विज्ञापनमा एउटा पदका लागि औसतमा ८८ जनाले दरखास्त भरेका थिए। जिल्लागत रुपमा धनुषाबाट सबैभन्दा बढी आवेदन परेको थियो। धनुषाबाट १६.४७ प्रतिशतले दरखास्त भरेका थिए। दरखास्त दिनेहरुमध्ये ७३.९३ प्रतिशत बेरोजगार रहेको आयोगले जनाएको छ।

आयोगले प्रतिवेदन अवधिमा आव २०७९/८० र २०८०/८१ को गरी २२२ पदको लागि लिखित परीक्षा सञ्चालन गरेको थियो। आव २०७७/७८, २०७८/७९ र २०७९/८० सम्मको १४९ पदका लागि १४६ जना उम्मेदवार सिफारिस गरेको जनाएको छ। जसमा स्वास्थ्य सेवातर्फ ४२, प्रशासन सेवातर्फ ३२, कृषि सेवातर्फ २६, वन सेवातर्फ २०, इन्जिनियरिङतर्फ १३, शिक्षा सेवातर्फ ११ जना, तथ्यांक सेवातर्फ १ जना र विविध सेवातर्फ १ जना रहेका छन्।
आयोगले आव २०८०/८१ मा आह्वान गरेको विज्ञाापनका पदहरुको सिफारिस हुन बाँकी रहेको छ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको