लहान चैत्र १४ सिरहाको गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठको परिवारमाथि लगाइएको १२ करोडको बंगला उपहार दिएको भन्ने आरोपको खण्डन गरेको छ।मेयरका छोरा सुमित श्रेष्ठले पत्रकार सम्मेलन गरि खण्डन गरेको हो । दवानल अनलाइनका सम्पादक अर्जुन थपलियाले चैत्र ११ गते प्रकाशित गरेको समाचारमा मेयर श्रेष्ठले काठमाडौँको कुपण्डोलमा एक रोपनी जग्गामा भव्य बंगला निर्माण गरेको दाबी गरिएको थियो। साथै, समाचारमा श्रेष्ठको सम्पत्ति विवरण र आम्दानी स्रोतप्रति शंका गरिएको थियो। मेयर श्रेष्ठका छोरा सुमित श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै दवानल अनलाइनमा प्रकाशित भएको समाचारलाई भ्रामक, आधारहीन र तथ्यहीन भएको बताएका छन्।श्रेष्ठले भने,समाचारमा उल्लेख गरिएको १२ करोड लागतको भनिएको घर हाम्रो परिवारको होइन। सो घर कुपण्डोलमा नभई ललितपुरको चाकुपाटमा रहेको छ। हामी त्यस घरमा एउटा कार्यक्रममा सहभागी हुन पुगेका थियौँ, त्यही बेला खिचिएको तस्बिरलाई तोडमोड गरी गलत प्रचार गरिएको जनाएको छ । श्रेष्ठ परिवारले पत्रकारिताको मूल सिद्धान्तअनुसार प्रमाणका आधारमा समाचार सम्प्रेषण गर्नुपर्नेमा कुनै आधारबिना समाचार प्रकाशित गरेर जनतालाई भ्रमित पार्ने कार्य पत्रकारिताको नैतिकता विपरीत भएको स्पष्ट पारेका छन्। श्रेष्ठ परिवारले दवानल अनलाइनका सम्पादक अर्जुन थपलिया पटक-पटक तथ्यहीन समाचार प्रकाशन गर्दै आएको आरोप लगाउँदै पत्रकार महासंघ र सम्बन्धित निकायसँग उक्त भ्रामक समाचारबारे आवश्यक छानबिन र कारबाहीको माग गरेको छ। साथै, श्रेष्ठ परिवारले दवानल अनलाइन विरुद्ध कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी गराएको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: